काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित विशेष–साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नरहेको बताए ।
‘अहिले राजीनामाको प्रसङ्ग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसन पनि हुनसक्छ । गठबन्धन बलियो हुँदासम्म र सरकारले शिर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन । सरकारले एकातिर राम्रो काम पनि गरिहरेको छ, अनि राजीनामा पनि दिनुपर्ने रु भ्रष्टाचारीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने रु सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने रु यो कुरा मिलेन ।’
मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसङ्ग आउनु नै गलत भएको बताए । उनले भने,‘अहिले राजीनामाको प्रसङ्ग नै नआउनुपर्ने हो । राम्रो काम गर्नेले राजीनामा दिने होइन । कि त कोही भ्रष्टाचारमा मुछिनुपर्यो । बदनाम हुनुपर्यो । जनविरोधी काम गर्नुपर्यो । जनताले यो मन्त्री र प्रधानमन्त्रीले राजीनामा देउ भन्नुपर्यो । कुनै नेताले आफ्नो कुर्सीको निम्ति राजीनामा माग्नुको कुनै अर्थ हुँदैन । जनताले यो सरकारलाई समर्थन गरेका छन् । सरकारका कामलाई जनताले प्रशंसा गरेका छन् । जनताले बल्ल सरकार भएको अनुभूति गर्न थालेका छन् । यति वेला राजीनामाको प्रसङ्ग आउनु बेमौसमको बाजा बजाउनु हो ।’
उनले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरूमाथि कारबाही हुने विश्वास दिलाए ।