काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताएका छन् ।

यसअघि तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेकोले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिँदै आएका शर्माले आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा आफूले गृहमन्त्री र अर्थमन्त्रीले तस्करी गर्नुभयो भनेर नभनेको जिकिर गरे ।

सुन तस्करी प्रकरणमा शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै चर्को अभिव्यक्ति दिँदै आएका थिए । उनले १० साउनमा संसदमै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए । काँग्रेसका अन्य सांसदहरु वीरबहादुर बलायर, रामहरि खतिवडासहितले पार्टी सिद्धान्त विपरित शर्माले अनुशासनहीन भएर बोलेको आरोप लगाएका थिए । उनीहरुले एमाले अध्यक्ष केपी ओलीलाई राजनेता भन्दै शर्माले जिन्दावादको नारा लगाएको प्रति पनि आपत्ती जनाएका थिए ।

शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको स्पष्टीकरण दिए । ‘भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने हुन्छ भन्ने प्रश्न मात्र हो’, उनले भने, ‘मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र ? मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न हो ।’

शर्माले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको समेत बताएका थिए । शर्माले काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो पिता समान रहेको भन्दै उहाँलाई अब प्रधानमन्त्री बनाउनुपर्ने आफ्नो मत रहेको बताएका थिए । उनले आफूलाई सहयोग गरेकोले एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएको बताउँदै आफ्नो गिरफ्तारीबारे छानविन हुनुपर्ने मागसमेत गरेका थिए ।