विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

माई नगरपालिकाको वडा नम्बर १ र ३ मा सो सामुदायीक बन रहेको छ । सामुदायिक वनको आम्दानी हिनामिना गरेको अभियोगमा अध्यक्ष बराइलीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अध्यक्ष बराइलीलाई १५ लाख पाँच हजार ९३० बिगो कायमगरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बराईलीले समूहको निर्णयविना आफू अनुकूल कागजात तयारगरी गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई पुल निर्माणमा खर्च भएको भनी चार लाख रुपैयाँ र स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमनका लागि विनियोजित रकमलाई ऐलानी जग्गा खरिद गरी वन समूहको ११ लाख लाख पाँच हजार ९३० रुपैयाँसमेत गरी कुल १५ लाख पाँच हजार ९३० रुपैयाँ भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गरेको अख्तियारको ठहर छ ।

यस्तै पशुपति सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र समूहका तत्कालीन कोषाध्यक्ष रामकुमारी खत्रीले लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविना कागजात तयारगरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी चार लाख भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरेको दिखएकोले उनीविरुद्ध चार लाख बिगो कायमगरी आरोप पत्र दायर गरिएको उनले बताए ।