विराटगनर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा छ जना पत्रकार पुरस्कृत भएका छन् । विराटनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।
फोनिजको स्थापना दिवसको अवसरमा पत्रकार सुजता लिम्बू, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी र विदुर खवास पुरस्कृत भएका हुन् ।
यस्तै दिलिप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ । सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुरस्कृत भएका मध्ये खवास र लिम्बूलाई प्रदेशले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री मोदीले पहिचान सहितको संघीयता ल्याउन दुई तिहाइ आवश्यक रहेको बताए । कोशी प्रदेश नामकरण सच्याउनु पर्ने माग भइरहेको बेलामा मन्त्री मोदीले दुई तिहाइ मत ल्याएर प्रदेशको नामकरण सच्याउनुपर्ने बताएका हुन् । त्यसका लागि पहिचानवादी पार्टीलाई जिताउनुपर्ने मन्त्री मोदीले बताए । पहिचान पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए । पहिचानसहितको संघीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको उनले बताए । उनले प्रदेश १ को नामकरण पहिचानसहितको हुनुपर्नेमा जोड दिए ।
पहिचानवादीको माग पूरा गर्नका लागि आदिवासी जनजातिहरु एक जुट हुनुपर्ने उनले बताए । ‘आदिवासी जनजातिहरु एक जुट भएर आफ्नो अधिकार स्थापित गराउन लाग्नुपर्छ,’ मन्त्री मोदीले भने ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्षहरु माया जिमी, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, फोनिजको केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका लीलावल्ल्भ घिमिरे, प्रेस चौतारीका सचिव बिक्रम लुइँटेल, प्रेस सेन्टरका उपाध्यक्ष विवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरेलगायलते शुभकामना व्यक्त गरेका थिए ।

