दमक । दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन नसकेको हो ।

खाद्य प्रयोगशाला तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए । नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले विभिन्न खाद्य तथा पेय पदार्थ पनि परीक्षण गर्नेगरी व्यवस्था गर्दै लैजाने उद्देश्यका साथ प्रयोगशाला सुरु भए पनि आन्तरिक व्यवस्थापन नहुँदा प्रयोगशाला सञ्चालनमा ल्याउन कठिनाइ भएको बताइन् ।

प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक कर्मचारीको व्यवस्थापन नभएका कारण प्रयोगशालालाई नियमित सञ्चालन गर्न अझैसम्म नसकिएको उनको भनाइ छ । यहाँ उत्पादन भएका तथा बिक्री वितरण हुँदै आएका पानी उद्योगको पानीको शुद्धता परीक्षण एवं डेरीबाट उत्पादन भएको दूधको गुणस्तर जाँच गर्न पनि सकिने उनको भनाइ छ ।

अन्य खाद्य सामग्रीको परीक्षण गर्ने उपकरणको पनि व्यवस्था गरिने र विषादीसमेत जाँच गरिने भनिए पनि अहिले प्रयोगशाला बन्दजस्तै अवस्थामा रहेको छ । प्रयोगशाला सञ्चालनमा नआउँदा खाद्य वस्तु परीक्षण बिनानै उपभोग गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय सरकार आफैँले लगानी गरेर तयार पारेको खाद्य प्रयोगशाला सम्भवत नेपालकै पहिलो भएको दाबीसमेत गरिएको थियो ।दमक नगरपालिकाको आन्तरिक स्रोतबाट झण्डै रु ३० लाख खर्चेर बनाइएको प्रयोगशाला तयार गरिए पनि प्रयोगविहीन हुँदा खाद्य गुणस्तर मापन गर्न नसकिएको उहाँको भनाइ छ ।