अन्तर्राष्ट्रिय मन्दीले घट्यो फलामे सामानको मूल्य

विराटनगर । निर्माण सामग्री अन्तर्गत फलामे सामानको मूल्यमा एकाएक मन्दी आएपछि सर्वसाधारण उपभोक्ता फाइदा र उत्पादक कम्पनीहरू घाटामा देखिएका छन् ।

फलामे सामानका कच्चा र तयारी पदार्थ दुवैमा डेढ महिनादेखि अन्तर्राष्ट्रिय रूपमै क्रमशःमन्दी आएपछि नेपालमा पनि तिनको मूल्यमा ह्रास आएको हो । उद्योगीहरूले टीएमटी, एंगल, च्यानल, एमएस पाइप लगायतका फलामे वस्तुको मूल्यमा भारत र अन्य देशका तुलनामा नेपालमा धेरै गिरावट आएको बताएका छन् ।

उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले फलामे वस्तुको मुख्य कच्चा पदार्थ स्पन्ज आइरनको मूल्य किलोको ८ रुपैयाँले घट्ता तयारी वस्तु भने १२ देखि १४ रुपैयाँले घटेको जानकारी दिए । उद्योगी शारडाले नेपालमा मात्र कच्चा पदार्थको भन्दा तयारी वस्तुको मूल्य धेरै घटेको दाबी गरे । शारडाले भने, ‘असार मसान्तमा बैंक र राजस्वको दबाब थेग्न नसकेपछि हामीले उत्पादनहरू मूल्य घटाएर बेच्नुप¥यो । तर पनि भने जति माल बिक्री भएन । त्यसपछि बजारमा सापटी खोजेर असार मसान्तमा फर्छ्यौट गर्नुप¥यो । त्यो सापटी तिर्न अहिले पनि हामीले सस्तैमा माल बेच्नुपर्ने बाध्यता छ । सबैजसो फलामे निर्माणसामग्रीका उद्योगको वर्तमान अवस्था यही भएको छ ।’

दुई महिनाअघि टीएमटीको कारखाना मूल्य प्रतिकिलो (भ्याटबाहेक) ९४ थियो, अहिले ७९ रुपैयाँ भएको छ । एंगल किलोको ९८ बाट ८५ रुपैयाँमा झरिसकेको छ । च्यानल किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ ।उनका अनुसार दुई महिनापहिले टीएमटीको कारखाना मूल्य प्रतिकिलो भ्याटबाहेक ९४ रुपैयाँ थियो । अहिले ७९ रुपैयाँ भएको छ । यसमा अन्तःशुल्क प्रति किलो १ रुपैयाँ र मूअकर पनि जोडिन्छ । त्यस्तै दुई महिनाअघि एंगलको मूल्य भ्याटबाहेक किलोको ९८ बाट अहिले ८५ रुपैयाँमा झरिसकेको छ । च्यानलको मूल्य भ्याटबाहेक किलोको १०२ बाट ८८ रुपैयाँ भएको छ ।

गोयल हार्डवेयरका सञ्चालक राजकुमार गोयलले एमएस पाइपको खुद्रा मूल्यमा किलोको १२ देखि १४ रुपैयाँले गिरावट आएको जानकारी दिए । उनका अनुसार दुई महिनाअघि एमएस पाइपको खुद्रा बिक्री मूल्य किलोको भ्याटबाहेक १२२ रुपैयाँ थियो, अहिले ११० भएको छ । कर्कटपाताको मूल्य भने खासै खस्किएको छैन। गोयलले अहिले निर्माणसामग्रीको बिक्री कम हुने सिजन भएकाले उद्योगले नै कर्कटपाताको मूल्य बन्डलमा एक सयदेखि एक सय ५० रुपैयाँसम्म घटाएर दिइरहेको बताए । ‘यसलाई खासै ह्रास मानिदैन,’ उनले भने, ‘टीएमटी, एंगल, च्यानल, एमएस पाइपका तुलनामा कर्कटपाताको मूल्य लगभग स्थिर नै देखिन्छ ।’आफ्नो पसलमा सादा कर्कट पाताको खुद्रा मूल्य एक बन्डलको भ्याटबाहेक १० हजार ८ सय र रंगीन कर्कट पाताको खुद्रा मूल्य एक बन्डलको भ्याटबाहेक १२ हजार २०० भएको उनले बताए ।

कर्कटपाता उत्पादक आरती स्ट्रिप्सका सञ्चालक विशाल गुप्ताले पनि यसको मूल्य विगत ३ महिनादेखि हालसम्म स्थिर भएको स्पष्ट पारे । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवम् निर्माण सामग्रीका उद्योगी अनुपम राठीले २ महिनाअघि फलामको मुख्य कच्चा पदार्थ स्पन्ज आइरन टनको आयात प्रति टन ४३० डलरमा हुने गरेको जानकारी दिए । उपाध्यक्ष राठीले हिजोआज प्रतिटन ३७० डलरमा आयात भइरहेको बताए । यसप्रकार एक डलरको नेरु १३२ का हिसाबले स्पन्ज आइरनको मूल्य प्रतिकिलो ८ रुपैयाँले घटेको देखिन्छ । राठी भन्छन्, ‘कच्चा पदार्थका तुलनामा तयारी वस्तुको मूल्य धेरै घट्नुमा असार मसान्तको दबाब नै मुख्य रह्यो । अनि सरकार र सर्वसाधारण दुवै पक्षबाट निर्माणकार्य असाधारण तरिकाले घटेको छ ।’

राष्ट्र बैंकको मौद्रिक नीतिले पनि निर्माणसामग्रीका उद्योगका बारेमा ठोस सम्बोधन नगरेको गुनासो उनले गरे । ‘मौद्रिक नीतिमा स्टिल, सिमेन्ट र निर्माणसँग सम्बन्धित प्लास्टिक उद्योगका ऋणलाई सहज गरिदिने र पुनर्तालिकीकरण गरिदिने बुँदा त उल्लेख छ,’ राठी भन्छन्, ‘तर यो बुँदा ‘एब्स्ट्रयाक्ट’ प्रकारको छ । मौद्रिक नीतिले निर्माणसामग्रीका उद्योगका बारेमा मूर्त र ठोस बुँदा दिन सकेको छैन । त्यस्तै यस्ता उद्योगको चालु पुँजी कर्जाका सम्बन्धमा पनि मौद्रिक नीति मौन देखिन्छ । त्यसैले यस्ता उद्योगको कारोबार बढ्ला भन्ने आशा गर्नसकिने ठाउँ छैन ।’ मौद्रिक नीतिले घरकर्जालाई डेढ करोडबाट २ करोड बनाउँदैमा खासै असर नदेखिने प्रतिक्रिया उनको छ ।जुन प्रकारले अन्य सामग्रीमा महँगी, रोजगारीको ज्याला र निर्माण ठेकेदारलाई दिनुपर्ने रकम बढेको छ त्यस हिसाबमा डेढ करोडलाई र २ करोडमा बनाउनुमा खासै ठूलो अन्तर नहुने जिकिर उनी गर्छन् ।

‘हामी त सबैभन्दा पहिले बढीभन्दा बढी पुँजीगत खर्च नै चाहन्छौँ’, राठी भन्छन्, ‘अनि निर्माणव्यवसायीको भुक्तानी छिटो होस् भन्ने पनि चाहन्छौ । तब मात्र निर्माणसामग्रीका उद्योगले लय पक्रन सक्छन् । सर्वसाधारणले बनाएका एक–दुई तले घरबाट केही हुँदैन । तर दुःखको कुरा, सर्वसाधारणले गर्ने निर्माणकार्यमा पनि ६० प्रतिशतले ह्रास आएको छ ।’

आइतबार, २८ साउन, २०८०, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर