विमल लामिछाने
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा पार्टी बलियो बनाउने चिन्ता बढेको छ । पार्टीले तीनमहिने कार्ययोजना घोषणा समेत गरिसकेको छ । यो अभियानलाई ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिएको छ । झण्डै एकसाता लगाएर आइतबार सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले नेताहरूको कार्यविभाजन गर्नुका साथै ‘विशेष रूपान्तरण’ अभियान घोषणा गरेको हो । रुपान्तरण भन्नाले सामान्यतया कुनै समाज, वस्तु, व्यक्ति वा चेतना एक अवस्थाबाट अर्को गुणात्मक रुपले भिन्न र नयाँ अवस्थामा र विशेषतः राम्रो, उच्च र सशक्त अवस्थामा बदलिने प्रक्रिया हो ।
यद्यपि, यहाँ कसैको रुप र अवस्थामा मात्र परिवर्तन भन्ने बुझिन्छ । तापनि यहाँ भन्न खोजिएको रुपान्तरणले प्रायः स्वरुप र गुण अनि बाह्य र आन्तरिक दुवै रुपमा एकदमै अन्तर आउनु भन्ने नै हो । सामान्यतया प्रक्रिया र परिणामका दृष्टिले रुपान्तरणलाई दुई किसिमले बुझ्न सकिन्छ: एउटा हो, मात्रात्मक अर्थात अंश–अंश हुँदै सुस्त–सुस्त र क्रमशः हुने परिवर्तन । अर्को ः गुणात्मक अर्थात् एकैपटक फड्को स्वरुप एक्कासी र अविश्वसनीय रुपले पूर्व अवस्थाबाट आन्तरिक र बाह्य रुपमा समेत नितान्त भिन्न र नयाँ रुप–रङ्ग, गुण–सार, आकार–प्रकार र प्रकृति–प्रवृत्तिमा हुने परिवर्तन ।
जीवन्त कम्युनिष्ट पार्टीमा यो खालका अभियानहरु चलिरहन्छन् । तर कमरेड ! अहिलेचाहिँ सुधार्ने रुप कि आचरण ? सच्चिनुपर्ने रुपमा हो कि गुणमा ? बिग्रेको के हो र बिग्रिनुको कारण के हो ? कसले बिगा¥यो ? पार्टी तलबाट बिग्रेको हो, कि माथिबाट ? अब यावत प्रश्नको जवाफ कार्यकर्ता आफैले खोज्न जरुरी छ ।
यसअघि राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिएको बेला (२०७८) मा अध्यक्ष प्रचण्डले नै कमजोरी बढ्दै गएर सच्चिनै नसकिने गरी विचलित हुने कि कमजोरी सच्याएर क्रान्तिकारी, समाजवादी क्रान्तिको रूपमा रूपान्तरण गर्ने ? भन्ने प्रश्न उठाउनुभएको थियो । महाधिवेशनले रूपान्तरणलाई जोड दिएको थियो । त्यति खेर पनि विचार, व्यवहार, आचरण– केमा रूपान्तरण त ? भन्ने बहस चलेकै हुन् । अहिले पनि यही प्रश्न उठेको छ अनि यिनै विषयमा रूपान्तरणको आवश्यकता बोध भएको देखिन्छ ।
केन्द्रीय समितिको बैठकमा खास गरी जनतासँगको सम्बन्ध खुकुलो बन्दै गएको, भ्रष्टाचारमा संलग्नताको प्रश्न उठेकोबारे सदस्यहरूले छलफल गरे । त्यही छलफलपछि तीनमहिने विशेष रूपान्तरण अभियान चलाउने निष्कर्ष निकालिएको हो । यो अभियान जनतासँग जोडिने लक्ष्यमा छ; जसले भ्रष्ट आचरणलाई निषेध, भ्रष्टाचारीलाई कारबाही, सैद्धान्तिक प्रतिबद्धता अनुरूपको कार्य व्यवहारको माग गर्दछ । भ्रष्ट कम्युनिस्टले न पार्टी बन्छ न जनहितको योजना नै बन्छ । भनिन्छ, कम्युनिस्ट भ्रष्ट हुँदैनन्, हुन सक्दैनन् तर कम्युनिष्टहरु नै भ्रष्ट र कमिसनखोरका नाइके भएको देख्दा कम्युनिष्ट पार्टीहरुप्रति जनताको विश्वास दिनानुदिन घट्दै गएको छ ।
यसअघिपनि पार्टीले संगठन सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियान चलाउने भनिएको थियो तर माओवादीमा पनि नेताहरू सहरकेन्द्रित भएर रमाउनमा ब्यस्त हुनुले अभियान केवल औपचारिकतामा मात्रै सिमित हुने गरेको देखिँदै आएको छ । जनताका विचमा पनि यही अल्छी, मिठासे, मैमत्ता र ठगीखानेहरुको झुण्ड भन्ने आरोप लागेकै छ । पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी अनुशासन विग्रदै गएको जस्तो भएको र सच्चिन जरुरी रहेको सार्वजनिक रूपमै स्वीकार्दै पनि आएका छन् । यस्तो पृष्ठभूमिमा अगाडि सारिएको विशेष रूपान्तरण अभियानमा जनताले नेताहरूको रूपान्तरणको परीक्षा लिन पाउने मौकाको रुपमा भने अवश्य लिन सकिन्छ ।
माओवादी पार्टीले जनतासँग जोडिने र सङ्गठनलाई चलायमान बनाउने भनेर विगतमा उत्पादन बिग्रेड बनाउने, पार्टी कमिटीलाई उत्पादन र श्रमसँग जोड्नेलगायतका निर्णय गरेको थियो । ती निर्णय र अभियानहरू केवल अभियानमै सिमित रहेका थिए । तर भूमिगत कालमा अभियानले परिणाम दिनगरी काम गरेको अनुभूति हुन्थ्यो तर शान्ति कालमा भएका अभियानहरु परिणाममुखी बन्न सकेको पाइएन । तर पनि कम्युनिष्टहरु गल्दैनन् भनिन्छ, थाक्ने कुरा पनि भएन ।
भनिन्छ, माक्र्सवाद कुनै जडसूत्र होइन । कुनै धार्मिक गुरुग्रन्थ झैं जड भएर बस्दैन । यसलै माक्र्सवादको परिमार्जन लेनिनवाद हुँदै माओवाद वा विचारधारासम्म आइपुगेको छ । १८ औं शताब्दीमा माक्र्सवादले मार्ग निर्देशन कम्युनिस्ट घोषणापत्र मार्फत गरेको थियो । यतिमै कम्युनिस्टहरु बसेको भए आज कम्युनिस्ट आन्दोलन यहाँसम्म आउने थिएन । १९ औं शताब्दीमा माक्र्सवादलाई सम्पन्न गर्न लेनिनवादका आधार विकसित भयो । तेस्रो विश्वका देशहरु वा अर्ध–सामान्ती तथा अर्ध–औपनिवेशिक देशको मुक्तिका लागि माओवाद कारगार सावित भयो । यी सार्वभौम सिद्धान्तको समीक्षा र देशको वस्तुस्थिति सामाजिक बनोटको आधारमा आजको अन्तरविरोधलाई विज्ञानसम्मत ढंगले हल गर्ने कार्यदिशाको निर्माण र त्यो अन्तर्गतको पहलकदमीले मात्र नयाँ नेपालको परिकल्पना गर्न सकिएको कुरा भुल्न मिल्दैन ।
केन्द्रीय समिति बैठकमा पार्टीको नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको विचार नै प्रधान रहेको निष्कर्ष रहेको छ । स्वाभाविक रूपमा यो अभियानमा सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिने प्रयत्न गर्नुपर्छ ।
प्रचण्ड नेतृत्वको सरकारले खास गरी ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पार्ने प्रकरण र तस्करीको सुन प्रकरणमा संलग्नउपरको छानबिन कारबाहीबाट जनस्तरबाटै प्रशंसा पाइरहेको छ । यो प्रशंसालाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्ने प्रयास मात्रै होइन; भ्रष्टाचारविरुद्धको कार्यलाई पार्टी शुद्धीकरण र रूपान्तरणसँग पनि जोड्ने प्रतिबद्धताले भने केही महत्व रहन्छ ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने भन्दै पटक पटक समयबद्ध अभियान घोषणा गर्ने गरेको छ, तर परिणाम खासै देखिनेगरी आउन सकेको पाईँदैन । सशस्त्र विद्रोहको बेलाका अभियानहरू विद्रोही स्वरूपकै हुन्थे । २०६२÷६३ पछि शान्तिपूर्ण राजनीतिमा आएयता अधिकांश समय सत्तामा रहेको पार्टीको एक खालको रूपान्तरण भएकै छ तर प्रश्न सोही पार्टीभित्र उत्पन्न भइरहेको छ– रूपान्तरण कस्तो र कसको भयो ? यो पेचिलो प्रश्नको व्यावहारिक उत्तर दिन पार्टी नेतृत्व पङ्क्तिलाई सकस पर्दै छ ।
खुला समाज, खुला राजनीति र वैधानिक प्रक्रिया अवलम्बन गरिएको अवस्थामा जति प्रयास गरे पनि कसैले केही लुकाइरहन सक्दैन । त्यसैले माओवादी पार्टीले आफूमाथि के कमजोरीका कारण प्रश्न र गुनासा उठेका छन् भन्ने विश्लेषण गरी पार्टी रुपान्तरण गर्न सक्नु पर्छ । माओवादी केन्द्रको सन्दर्भमा विगतको तुलनामा यो बैठकलाई निकै सकारात्मक तथा उपलब्धिमूलक मान्नुपर्छ भनेर कार्यकर्ता स्वयम्ले उत्साहपनि जगाएका छन् ।
यो पटकको केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि पनि प्रश्न नउठाएको भने होइन । नेतृत्वले गुटबन्दीका आशंका, आरोपहरू चिरिएको र एकढिक्का बनेको सन्देश दिइएको बताइए पनि हरेक पार्टीमा स्वार्थ समूहहरू र दाउपेच जीवितै रहेको कुरा भने छिपाउन सकिन्न । हुन त जिवन्त पार्टीमा यो किसिमको प्रश्न र तिनका उत्तरहरु खोज्ने क्रम चलिरहन्छन् नै । पार्टीलाई सहि बाटोमा ल्याउने र नेतृत्वलाई खार्ने कुरामा यसले सकारात्मक सहयोग नै गरेको हुन्छ ।
माओवादीलाई जनयुद्ध, जनआन्दोलन र परिवर्तनको पहरेदारको रुपमा हेर्ने हो भने माओवादी अन्तरनिहित अनेकौँ प्रश्न भने रूपान्तरणसँग जोडिएका छन् । शक्ति र गुमेको साख फर्काउने लक्ष किटान त दस्तावेजमा भए पनि त्यो पवित्र योजना र चाहानाले मात्रै समाज परिवर्तन हुँदैन भन्ने कुरा विगतका अनुभवबाट पुष्टी भइसकेकै विषय हो । नयाँघर बनाउन जति सजिलो हुन्छ भत्किएको, ढलेको घर फेरि बनाउन कठिन हुन्छ । दृष्टिकोण र आदर्शले निर्देशन गरेको पार्टी आचरण र जीवन व्यवहारसँग जोडिएका छन् या छैनन् यो मुख्य प्रश्न हो ।
माओवादीका सामू अब निक्कै ठूला चुनौती पनि छन् । पछिल्लो समय देशका मूलभूत समस्या कुनै पार्टी र नेताले एक्लै गर्ने अवस्था छैन । मिलेर नै देशको भविष्य अगाडि बढाउनु पर्ने बाध्यात्मक अवस्था पनि छ । देशमा मूलभूत रूपमा राजनीतिक व्यवस्थामा निकै ठूलो परिवर्तन आए पनि सामान्य जनताको जीवनयापन लगायतका आम सरोकारका विषयमा खासै परिवर्तन आउन नसकेको तीतो यथार्थ हाम्रोसामु छ । पार्टी सुदृढीकरण, माओवादीको मुख्य मुद्दाका रूपमा रहँदै आएको सामाजिक, आर्थिक रूपान्तरण अबको कार्यसूची हुनुपर्छ । दोस्रो तहका नेता तथा अग्रपंतिका कार्यकता आफै नसच्निे हो भने पार्टी बनाउने अभियान सार्थक हुन सक्दैन ।
गतवर्षको महाधिवेशनपछिको नेतृत्वले नागरिक सपनाहरू साकार गर्ने अलौकिक योजना र बाटोसमेत तय गर्नुपर्ने अपेक्षा आम कार्यकर्तामा थियो । पार्टीमा सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलता ल्याउनुपर्छ भन्ने सर्वसाधारणको समेत अपेक्षा थियो । अझैपनि समय घर्कीसकेको छैन, तर नागरिकप्रति पूर्णसमर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ र देशको आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मार्ने अठोट गर्न सक्नुपर्छ ।
केन्द्रीय समितिको लामो बैठक र बहसबाट खारिएर जनतासँग आएका नेताहरुले अब साँच्चै जनतालाई राजनीति फेरिएको महसुस गराउने हो भने नेतृत्वले आर्थिक विकाससहित गरिबी र बेरोजगारी अन्त्यको दिगो मार्गचित्र तयार पार्नुपर्छ । पछिल्लो विश्व राजनीतिको सर्वप्रिय शब्द समृद्धि, समुन्नति, सम्मान र सर्वाधिक अपेक्षित अवस्था समाजवादको लक्ष्यमा पुग्ने रणनीति अनि नागरिकले प्रस्ट बुझ्ने गरी अनुपम योजना पस्कन सक्नुपर्छ ।
अब नेतृत्व र कार्यकर्ता सबैमा राजनीतिक नैतिकता, इमान र चरित्रमा सुधार आउनैपर्छ । कार्यशैली र आचरणमा सुधार आउनैपर्छ । लोकतन्त्रको मूल्य मर्यादा कायम राख्ने हो भने कुँडिएका, भाँचिएका तन र विभाजित मतलाई एकीकृत गर्न सकिन्छ । यो प्रक्रिया पूरा गर्न कमरेडले आचरण अवश्य सुधार्नै पर्छ ।