संखुवासभा । संखुवासभा जिल्ला कारागारमा आज विहान दुई कैदीबन्दीको मृत्यु भएको घटना अनुसन्धानको लागि प्रहरीले कारागारमै रहेका ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न रहेको आशंकामा ९ जना कैदीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइहरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिएका छन् ।

मंगलबार राति कारागारबाट भाग्ने प्रयास गरेका संखुवासभा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भित्रै राखेका थिए । उनीहरुलाई विहान कारागारभित्र अचेत अवस्थामा फेला पारिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारागारभित्र सुरक्षाको चुनौती पनि हुनसक्ने भएकाले आरोपितलाई छुट्टै स्थानमा राखेको प्रहरीको भनाइ छ ।

दुई जना कैदीले बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गर्दै शौचालयको झ्यालको रड काटेका थिए । उनीहरूले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारभित्र राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार मृतकमाथि लात्ती र मुक्काले हिर्काएको देखिएको छ। घटनाबारे छानबिनपछि मात्रै यथार्थ खुल्ने उनले बताए।

जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ । मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद तोकिएर एक वर्षदेखि जिल्ला कारागारमा थिए ।

हाल कारागारमा १३८ कैदीबन्दी छन् । मृतक दुई कैदी बस्ने कोठामा ३८ जना कैदीबन्दी रहेको बताइएको छ ।