संखुवाभसा । जिल्ला कारागार संखुवासभामा रहेका दुई कैदीबन्दीको बुधबार विहान मृत्यु भएको छ ।

कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका ५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका ७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको मृत्यु भएको हो ।

बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएकोमा उनीहरु कारागारभित्र अचेत अवस्थामा भेटिएको बताइएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अचेत अवस्थामा भेटिएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई अस्पताल पुर्‍याएको थियो । प्रशासनका अनुसार तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए ।

एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका उनीहरु बुधबार राति शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर कारागारमा राखिएकोमा अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको देखिएको छ ।

कैदीबन्दीको मृत्यु भएपछि कारागारमा केहीबेर तनावपूर्ण स्थिति बनेको थियो । घटना शंकास्पद् देखिएकाले छानबिनका लागि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरिएको छ।