विराटनगर । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुव्र्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका छन् ।

मदिराले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला र दुव्र्यवहार गरेको आरोपमा सिराहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो पक्राउ परेका हुन् ।

उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

यातायात सेवा कार्यालयमा महतोले आँखा जाँच गर्ने जिम्मेवारी एक वर्षका लागि पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डाक्टर महतो रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेका थिए । काम छाडेको निहुँमा गालीगलौज गर्दै महतोले महिलामाथि अभद्रव्यवहार गरेको प्रहरीको दाबी छ ।

महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो ।
उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए ।