विराटनगर ।बुढीगंगा गाउँपालिकाले करार सेवामा नियुक्त गरेका २६ जना कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा निष्काशनमा परेका कर्मचारीहरुले म्याद थपको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकालाई कर्मचारी आवश्यक हुँदाहुँदै बिनाकारण म्याद थप नगरी नयाँ कर्मचारी नियुक्ति गर्न खोजेको भन्दै उनीहरुले कार्यरत कर्मचारीहरुलाई नै पुर्नवहाली गर्न माग गरेका हुन् । उनीहरुले मंगलबारदेखि गाउँपालिकाको गेटमा प्लेकार्डसहित धर्ना दिएर आन्दोलन सुरु गरेका हुन् । मंगलबार आन्दोलनमा उत्रिएका कर्मचारीले कार्यालयको गेटमा तालाबन्दीसमेत गरेका छन् ।
तालाबन्दीका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही कार्यालयभित्र प्रवेश गर्न पाएनन् । आन्दोलनमा उत्रिएका कर्मचारीले गाउँपालिकाले विभेदपूर्ण तरिकाले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गरेका छन् ।
पालिकाले सब इन्जिनियर, अमिन, अहेब, कार्यालय सहायकलगायत विभिन्न पदमा कार्यरत करार सेवाका कर्मचारीलाई कामबाट निकालेको थियो । गाउँपालिकामा ६४ जना करारका कर्मचारी छन् ।पालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले कर्मचारी बढी हुँदा बेरुजु बढेकोले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको बताएकी थिइन् ।

