राष्ट्रवादको आवरण अन्धराष्ट्रवादी चास्नी

 मणि दाहाल

राजनीति पानी धमिल्याएर माछा मार्न उद्धतहरुको माखेजालमा फस्दै जानु हाम्रो हाम्रो दैनिकी हो । अनि सोही दैनिकीभित्रको अभाव, बेरोजगार र कुशासनको पीडा हाम्रो नियति हो । अनि जनतालाई हर हिसाबमा गुमराहमा राखेर कथित राष्ट्रवादको खास्टो र सोही खास्टोमा जनतालाई ढाल बनाई जनतामाथि नै लाठी बर्षाउनु अधिनायकवादको विषेशता हो । साथै अधिनायकवादको साहारामा जालझेल र षडयन्त्रपूर्ण दाउपेचबाट जसरी भएपनि सत्तामा टिक्न प्रयासरत रहनु निरंकुश तथा प्रतिगमनका पक्षपोषकहरुको मूल चरित्र हो । त्यसकारण राष्ट्रवाद र अन्धराष्ट्रवादको बारेमा सबै जानकार हुनु जरुरत छ ।

राष्ट्रवाद भन्नासाथ हामी झुम्मिएर भीडको पछि दौडन्छौं । राष्ट्रवादका आवरणधारीहरुको सक्कली रुपको बारेमा जानकारसम्म बन्दैनौं । उसको देवत्वकरण र जयजयकार हाम्रो नियति बन्छ । यो नियतिको चेतना हिजोपनि थियो । आज पनि यथावत छ । बिगतमा सोही चेतनामाथि टेकेर राजामहाराजाहरुले युगौंसम्म निरंकुशतााको बुट बर्षाए । साथै आजका नव महाराजाहरु पनि सोही चेतनाभित्रै शासक बनेर कुशासनको बुट बजारी नै रहेका छन् ।

अब राष्ट्रवादको बारेमा केही चर्चा गरांै । जनहित अनुकुलको अखण्ड राष्ट्रिय नीति राष्ट्रवाद हो । यसलाई देशभत्तिपूर्ण अन्तरआत्मा पनि भन्न सकिन्छ । राष्ट्रको चौहद्धिभित्रका जनता र उनीहरुको मनोभावना राष्ट्रवादको आधार हो । राष्ट्रवाद प्रगतिशील हुन्छ । जनभावनाको सम्मान र राष्ट्रिय स्वाभिमानको संरक्षणमा प्रतिबद्ध रहन्छ । हित अनुकुलतामा रुक्दैन । प्रतिकुकुलतामा झुक्दैन । वैचारिक विविधताको बिचमा पनि एकमना सोचको परराष्ट्र नीति हुन्छ । परराष्ट्र नीति र त्यसको परिधि राजनीतिको आधार बन्छ । राजनीतिक दलहरु त्यसप्रति प्रतिबद्ध हुन्छन् । अनि नेता इमान्दार ।

राष्ट्रवादको ठीक विपरीत गतिविधि अन्धराष्ट्रवाद हो । यसलाई अति अन्धराष्ट्रवाद पनि भनिन्छ । यो व्यक्तिवाद र निहित स्वार्थमा आधारीत हुन्छ । यसले सामुहिक स्वार्थलाई आधार मान्दैन । धोकाधडी र षडयन्त्रपूर्ण राजनीतिक आवरण यसको विशेषता रहन्छ । शासकहरु राष्ट्रवादको खोक्रो नारालाई सत्ताको प्रमुख आधार मान्छन् । देशी विदेशी प्रतिक्रियावाद सँगको अदृश्य लगनगाँठो उनीहरुको नियति बन्छ । राजनीति विदेशी शासकहरुको इसारामा चल्छ । राष्ट्रिय अस्मितामाथिको कुटिल सौदाबाजी जनताले थाहा पाउँदैनन् । थाहापाए पनि केहि गर्न सक्दैनन् । राज्य सत्ता सीमित वर्गको हितमा हुन्छ । दलाल पुँजीवाद राज्यको साहारा हुन्छ । जनता करदाता र मतदाता मात्र हुन्छन् । तर पनि राष्ट्रवादको चर्को नारामा जनताको भीड जम्मा गर्न र उत्तेजनापूर्ण निर्णय गराउन भने अन्धराष्ट्रवाद सफल रहन्छ ।

राष्ट्रवादको आवरणका खलनायकहरु हाम्रो राजनीतिमा प्रसस्त छन् । हिजो थिए । आज पनि छन । राणशाहीको अन्त्य पछिको राजनीतिक इतिहासलाई अवलोकन गर्ने हो भने अन्धराष्ट्रवाद नै जनदमन र अधिनायकवादी सत्ता टिकाउने हतियार थियो । राष्ट्रवादकै साहारामा तत्कालीन राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाए । पञ्चायती शासकहरु यसैको आधारमा टिक्न सफल बने । यसकै ढाडमा टेकेर पञ्च र मण्डलेहरुले देशलाई भ्रष्टचारको आहालमा डुबाए । मठमन्दिरका दुर्लभ तथा प्राचीन मूर्तीहरुलाई सखाप बनाए । पञ्चायत इतर शतिmलाई अराष्ट्रिय तत्व बनाए । करिव ३० वर्ष जनतालाई भोक, रोग र अशिक्षाको उपहारमा शासकहरुले राष्ट्रिय अस्मिता र सम्पदा सबैमा ब्रम्हलूट मच्चाए । चेलीबेटी सुरक्षित रहेनन् । दरबारीया भाइभारदारको तान्डव नृत्य निरिहतापूर्वक नियाल्नु जनताको दैनिकी बन्यो ।

पञ्चातको अन्त्य र बहुदलको स्थापनापछि पनि अन्धराष्ट्रवादी चिन्तनमा कमी आउन सकेन । दरबारिया र पञ्चायती भूतहरु दलीय आवरणमा संरक्षित बने । उनीहरुको सारा अपराध मिनाहा भयो । विगतमा झैं उनीहरु नम्बरी देशभतm र राष्ट्रवादी भए । बहुदलवादी भन्नेहरुले त्यसको भण्डाफोर गर्न सकेनन् । बरु पञ्चायती भ्रष्टचारका जनकहरुलाई दलीय झण्डाले चोख्याउने प्रतिस्पर्धामा लागे । फलस्वरुप बहुदलवादीहरु पनि सोही प्रवृत्तिका प्रिय मात्र बनेनन् विदेशी प्रतिक्रियावादका सूचनावाहक बने ।

जहाँ र जहिल्यै पनि शासक वर्गले राष्ट्रवाद र नागरिकतालाई ढालको रुपमा प्रयोग गर्दै आएका छन् । पञ्चायती शासकहरुले नागरिकतामा सत्ताको सौदाबाजी गरे । सोही अनुसार नेपाल नागरिकता ऐन २०२० जारी भयो । सो कानुनले विदेशी बुहारीलाई जग्गेमै नागरिकता दिने प्रावधान ग¥यो । वैवाहिक अंगिकृतको प्रावधान अन्तराष्ट्रिय प्रचलनमा मेल खाने थिएन । पञ्चायतको अन्त्यपछि पनि नागरिकताको सो प्रावधानमा सुधार गर्न बहुदलवादीहरु पनि तयार भएनन् । बरु २०६३ सालमा डालामा नागरिकता बाँड्न तयार भए ।

अन्धराष्ट्रवादीहरु षड्यन्त्रमा माहिर हुन्छन् । २०२० सालमा जारी भएको नागरिकताको प्रावधानमा पञ्चायतकालभरी चुँसम्म बोल्न नसक्ने पञ्चायती भूतहरु अहिले वैवाहिक अँगिकृतलाई राष्ट्रवादसँग जोडेर राजाको जयकार गर्दैछन् । २०६३ सालमा डालामा नागरिकता बेच्ने खलनायकहरु जन्मसिद्धका छोरा छोरीलाई नागरिकता दिन अवरोधमा उत्रिए । तर, तिनै कथित राष्ट्रवादीहरु विदेशी बाबुबाट जन्मेका भान्जा भान्जीलाई नागरिकता दिन तयार भए । तयार नहुँदा पश्चिम र दक्षिणका मालिक रिसाउने थिए ।

असमान महाकाली सन्धीमा जनतालाई वार्षिक २०औं खर्ब आम्दानी हुने प्रलोभन देखाएर माहाकाली बेच्ने खलपात्रहरु उग्रराष्ट्रवादको राग अलाप्छन् । बिसौं खर्ब कताबाट आयो र कता गयो । आजसम्म थाहा छैन । तर, राष्ट्रवादको चर्को नारा उनीहरुको आवरण बनिनै रहेकोछ ।आजकाल पश्चिमको सिता खाएर उतैको गीता गाउने नयाँ जोगीहरु झन् अब्बल राष्ट्रवादी बन्दैछन् । उनीहरु त ग्रेटर नेपाल पनि भन्न पछिपरेका छैनन् । मूर्खहरुलाई थाहा छैन ग्रेटर नेपाल भनिने भूभागको आठ करोड जनसंख्या र यहाँको तीन करोडको असन्तुलनले भावी परिणम के हुने भनेर । तर हामी फेरि पनि सोहि भीडको पछाडि दौडिरहेका छौं ।

राष्ट्रवाद ओठेभत्ति हैन । चर्का भाषण र चिप्ला कुराले राष्ट्रवादी बनिदैन । राष्ट्रवादको लागि हृदयदेखि नैे स्वच्छ भावना जागृत हुनुपर्छ । आम जनतालाई एकताको सुत्रमा बाँध्न सक्नुपर्दछ । आमजनतामा देश मेरो हो र मलाई माटोको माया छ भन्ने भावना सिर्जना गराउन सक्नुपर्दछ । सो माटोमा गरिखान सक्ने वातावरण बनाउन सक्नु पर्दछ । जनतालाई अभाव, पथभ्रष्टता र कुशासनको उपहार दिएर राष्ट्रवादी बनिदैन । देशका कर्णधार मानिएका युवा जनशतिmलाई विदेशका गल्लीमा पलायन हुन बाध्य पार्ने अनि राष्ट्रवादका ठूला कुरा गर्ने ? । सो राष्ट्रवाद भनेको लेण्डुपवादी राष्ट्रवाद हो । जुन हामीलाई स्वीकार्य छैन

बुधबार, २४ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर