विराटनगर । विराटनगर महानगरपालिकालि आफ्नो मातहतका स्वास्थ्य संस्थामा निःशुल्क डेंगु परीक्षण गर्ने भएको छ ।

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले बैठक राखेर उनीहरुको लागि पनि शुल्क तोकेको छ ।

सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बसेको बैठकले डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको हो ।

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँसम्म लिएको भन्दै महानगरमा गुनासो आएको थियो । गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन् ।

डेंगुको महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन मेयर कोइरालाले आग्रह गरेकान् । निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा.शंकर अधिकारीले महानगरको निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् ।

महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा भने चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।