विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जीवन आचार्यले आफूविरुद्ध अतिरञ्जित अफवाह फैलाउने काम भइरहेको बताएका छन् । द्वेष र कुण्ठा राखेर आफूविरुद्ध अफवाह फैलाएको भन्दै आचार्यको सचिवालयले अतिरञ्जित प्रचारको खण्डन गरेको हो ।
कोशी प्रदेशसभाका सदस्य आचार्यले वर्तमान सरकारमा दाबी गरेको भन्ने अनावश्यक हल्लाप्रति सचिवालय मार्फत उनले ध्यानाकर्षण भएको जनाएका छ । ‘नवगठित प्रदेश सरकारको मन्त्रीका सन्दर्भमा माननीय जीवन आचार्यले मन्त्री दाबी गरेको भन्दै आएका बजार हल्ला प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ ‘गठबन्धनको मर्म र भावनालाई निश्कर्षमा पुर्याउनका निमित्त मैले सम्हाल्दै आइरहेको मन्त्रालयमा मेरो कुनै दाबी रहने छैन भन्ने कुरा नेतृत्व समक्ष पहिला नै जानकारी गराइसकेको अवस्थामा फेरि पनि दाबी गर्यो भन्दै अतिरंजित ढंगले पछिल्लो अफवाह फैलाउनु आपत्तिजनक, द्वेष र कुण्ठाको मानसिकताको उपज बाहेक केही नभएको हाम्रो बुझाइ छ ।’
सरकारमा कसलाई मन्त्री बनाउने भन्ने विषय नितान्त पार्टी, संसदीय दल र दलको नेताको अधिकार क्षेत्रको कुरा भएको भन्दै प्रधानमन्त्रीको परिवारसँग सम्बन्ध भएकै कारण गलत प्रमाणित गर्न खोजिएकोमा उनले आपत्ति जनाएका छन् ।
‘यसरी पटक पटक सम्माननीय प्रधानमन्त्रीको परिवारसँग जोडिएकै कारणले गलत सिद्ध गर्न खोजिनु घोर निन्दनीय छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।