काठमाडौं । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुन र उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मा लगाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार विभागले थप अनुसन्धानको लागि अभियुक्त र अनुसन्धान फाइल सिआईबीको जिम्मा लगाएको हो ।
अहिलेसम्म संकलित अनुसन्धानका प्रमाणहरु, अनुसन्धानको प्रगति र पक्राउ परेका १७ जनालाई सीआईबी पठाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । ‘पक्राउ गरेका सबै आरोपिहरु, हामीले संकलन गरेका प्रमाण र अहिलेसम्मको अनुसन्धान फाइल जस्ताको तस्तै सीआईबीमा पठाउँदै छौं’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले गत बिहीबार मात्रै राजस्वले अनुसन्धान गरिरहेको यो प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन अनुसार अनुसन्धानका सबै फाइल र पक्राउ परेकाहरुलाई समेत प्रहरीमा हस्तान्तरण गर्न लागेको विभागले जनाएको छ ।
सीआईबीले सो प्रकरणको अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिसकेको छ । डीएसपी दुर्गाराज दाहालको नेतृत्वमा शुक्रबारदेखि नै अनुसन्धान सुरु भइसकेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । टेक्निकल पाटोबाट अनुुसन्धान सुरु भएको जानकारी दिँदै उनले राजस्वबाट फाइल आइसकेपछि थप अनुसन्धान अगाडि बढ्ने बताइन् ।
राजस्वले फरक मितिमा यो प्रकरणमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ।
पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन् ।
यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन् ।
तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। सुब्बा क्यान्सरको बिरामी भएकाले हाजिरी जमानीमा छाडिएको छ।
यो प्रकणमा तस्करीको सुन लुकाउन चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पनि पक्राउ परेका छन्। अब यो प्रकरणमा संलग्न देखिएका थप व्यक्तिलाई पनि सीआईबीले नै पक्राउ गर्नेछ।
पक्राउ परेकाहरुविरुद्ध सीआईबीले राजस्व छली र संगठित अपराधमा एकसाथ अनुसन्धान अघि बढाउने भएको छ ।

