विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्नेे हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिनेसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विराटनगर १५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भइ धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ्ग र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । राईलाई शनिबार धरानबाट पक्राउ गरिएको हो । अन्य तीन जनालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये अजय अवैध हतियार कारोबारी रहेको खुलेको छ । अजयले चारकोसे झाडीमा श्रृंखलाबद्ध लुटपाट गर्ने र रोहितको हत्या गर्ने गिरोहका मुख्य नाइके लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिनालाई अवैध हतियार बिक्री वितरण गरेको पाइएको एसपी दाहालले जानकारी दिए । ‘अजयले भारतदेखि अवैध रुपमा हातहतियार ल्याउने गरेको पाइएको छ । अवैध तरिकाले ल्याएको हतियार भण्डारण गर्ने र आपराधिक क्रियाकलापमा लागेका युवालाई बिक्री गर्ने गरेको पाइएको छ,’ एसपी दाहालले भने, ‘अजयले दिपकलाई ४५ हजार पेस्तोल बिक्री गरेको पाइएको छ ।’ पक्राउ परेका सुजन र प्रकाशले रोहितसँग गएका किशोरीलाई घाँटीमा खुकुरी देखाएर लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।

दिपकसहितको तीन जनाको समूहले २०८० असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका १७ खैरेनी जंगलमा लुटपाट गरेको थियो । एक जना महिलालाई नहाडाबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरुले लाठी र खुकुरी देखाई उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटेको थियो । लुटपाट गरेर तीन जना फरार भएका थिए । ‘खैरेनी जंगलमा लुटेको सुन बेचेर उनीहरूले हतियार किनेको खुलेको छ,’ एसपी दाहालले भने, ‘हतियार किनेपछि पनि उनीहरुले यो जंगलमा पटक पटक लुटपाट गरेका छन् ।’

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जंगलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको दुई दिनपछि थप चार जना पक्राउ परेको हो । यस घटनामा पक्राउ पर्नेको संख्या ६ जना पुगेको छ ।
पक्राउ परेका ६ जना आपराधिक क्रियाकलापमा संचलन भएका अभियुक्त हुन् । पक्राउ परेका तिमिल्सिना, तामाङ, शर्मा र लिम्बु यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसेर छुटेको खुलेको छ । तिमिल्सिना जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि मात्रै छुटेका थिए । उनी लागुऔषध प्रयोगकर्ता भएको र यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको छ ।

४५ हजारमा हतियार उपलब्ध गराउने शर्मा लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी चार महिना अगाडी निस्किएका अभियुक्त हुन् । कैद भुक्तान गरेर बाहिर आएपछि उनीहरु अपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ ।