विराटनगर । एक वर्ष कैद र बिगो बरावरको जरिवाना माग दाबी लिएर मोरङको बेलबारी नगरपालिका – ११ भाउन्नेस्थित सिर्जना सामुदायिक वनका अध्यक्ष छत्रबहादुर लिम्बूविरुद्ध मुद्दा दायर हुने भएको छ ।

डिभिजन वन कार्यालय मोरङले वनको ९५५ क्युफिट काठ घोटाला गरेको आरोपमा अध्यक्ष लिम्बूविरुद्ध जिल्ला अदालत मोरङमा आइतबार अभियोग दर्ता गर्ने भएको हो । लिम्बुलाई फरार प्रतिवादी बनाएर डिभिजन वन कार्यालयले वन ऐन अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए ।

‘अनुसन्धान पूरा भएको छ,’ उनले भने, ‘आइतबार अभियोग दर्ता गर्ने तयारी गरिएको छ ।’ वन ऐन २०७६ को दफा ४९ अनुसार लिम्बुलाई १ वर्ष कैद र बिगो बरावर १८ लाख जरिवना वा दुवै सजय हुने माग दावी लिएर अभियोग दर्ता गर्ने तयारी डिभिजन वन कार्यालयले गरेको छ ।

आइतबार अभियोग दर्ता भए सोमबार थुनछेक हुने अदालतले जनाएको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोप छ । वनको काठ अन्यमितता गरेको पाइएपछि डिभिजन वन कार्यालय मोरङले उनीविरुद्ध १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बू फरार भए ।

फरार भएका लिम्बूलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको थियो । पहुच र पावरको भरमा प्रहरी र वन कार्यालयले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर अभियोग लैजाने तयारी गरिएको छ । उनी विराटनगरमा रहेको बुझिएको छ । अदालतबाट धरौटी खुलाउने र धरौटी रकम बुझाएर मुद्दाको निरुपण गर्ने तयारीमा उनी लागि परेका छन् । त्यसको लागि काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरु लागि परेका छन् ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बूले सामुदायिक वन भित्रको घाटगद्दीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफूखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अनियमितता गरेको पाइएको हो ।

अनियमितताको आरोप लागेका लिम्बू नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनले विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए । २०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाटगद्दीमा रहेको काठ आफूखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

लिम्बूले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ । अध्यक्ष लिम्बुले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितता गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षको कार्यकाल भए पनि लिम्बूले आफनो कार्यकालको म्याद सकिएको एक वर्ष पछाडि मात्रै साधारणसभा गराएका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको छ । लिम्बूले सखुवा (साल)४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।

छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई गत असार ११ गते अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो । उनले अनुसन्धान पूरा गरेपछि अभियोग लैजाने तयारी गरिएको हो ।