विराटनगर । चितवन जिल्लामा ‘ब्लु बस’ सञ्चालनमा आएको विषय यतिबेला चर्चामा छ । महिलालाई निःशुल्क सेवा दिने उद्देश्यले सञ्चालन गरिएको ब्लु बस सेवा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बुधबार उद्घाटन गरेको खबर सार्वजनिक भएपछि विराटनगरका मजदुर नेता रवि ठकुरीले ‘यातायात मजदुरका कामको अनुशरण गर्दै रवि’ भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । ठकुरी अगाडि लेख्छन् ‘श्रमिकका योजना मुलुक परिवर्तनका संवाहकबाट सिक्दा राम्रै हुन्छ ।’

रवि लामिछानेले प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा निर्वाचित भएमा १०० दिनभित्र महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भनि गरेको वाचा बुधबार पूरा गरे । तर विराटनगरका रवि ठकुरी र उनको संगठनले विगत ५ महिनायता गरिब र विपन्न समुदायलाई लक्षित गरेर यस्तै सेवा दिइरहेको छ । अखिल नेपाल यातायात मजदुर संघले चैत १ गतेदेखि निशुल्क शव वाहन, मलामी बस र एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । त्यसैले रवि ठकुरीले आफ्नो संगठनको कामको अनुशरण चितवनमा भएको टिप्पणी गरेका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल यातायात मजदुर संघले विगत ५ महिनादेखि विपन्न वर्गलाई लक्षित गरेर शव वहान र मलामी बस सेवा सञ्चालन गरेको हो । अहिलेसम्म १०० भन्दा बढीले निशुल्क शव वाहन सेवा लिइसकेका छन् । खास गरेर मजदुर वर्गले यो सेवा बढी उपभोग गरिरहेका छन् । मजदुर संगठनले सञ्चालन गरेको सेवा भएकोले पनि मजदुरहरुले बढी प्रयोग गर्नु स्वभाविक भएको अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपमहासचिव ओपेन्द्र राय बताउँछन् । ‘हामीले चैत १ गतेबाट निशुल्क शव वाहन सेवा सञ्चालन गरेका छौं । यो सेवा धेरैजसो मजदुर परिवारले उपभोग गर्नुभएको छ र आम नागरिकले पनि सेवा लिनुभएको छ ।’
विराटनगर महानगरपालिकाले धेरै वर्ष पहिले शव वाहन सेवा सञ्चालन गरेको थियो । अहिले सेवा बन्द छ । सहजरुपमा शव वाहन सेवा नपाउँदा सर्वसाधारणले भोग्नुपरेको समस्यालाई केही हदसम्म भएपनि समाधान गर्ने भावनाले संघले एउटा पिकअप भ्यानलाई शव वाहनको रुपमा सार्वजनिक सेवामा प्रयोग गरेको हो । संघ अध्यक्ष रवि ठकुरी शव वाहन धनि र स्वयं चालक पनि हुन् । उनकै प्रस्तावमा संघले विराटनगरमा यो सेवा सञ्चालन गरेको हो ।

त्यसो त अखिल नेपाल यातायात संघले विराटनगरमा लामो समयदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । संघको नाममा रहेको एउटा एम्बुलेन्सले विराटनगर क्षेत्रभित्र यो सेवा उपलब्ध गराइरहेको छ । कतिपय बेलामा थप एम्बुलेन्सबाट पनि सेवा दिने गरेको अखिल नेपाल टे«ेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष ओपेन्द्र रायले जानकारी दिए । ‘गरिब वर्गलाई लक्षित गरेर हामीले सेवा दिइरहेका छौं तर यसबाट समुदायका अरु व्यक्तिहरुले पनि लाभ लिइरहेका छन्,’ रायले भने ‘धेरै स्थानीय पालिकाहरुले समेत सञ्चालन गर्न नसकेको यो सेवा मजदुर संगठनले दिइरहेको छ ।’

अखिल नेपाल यातायात संघको समन्वयमा विराटनगरमा निःशुल्क मलामी बस सेवा पनि सञ्चालन गरिरहेको छ । समाजसेवी सलिम अन्सारीको निजी बसले सर्वसाधारणलाई यो सेवा उपलब्ध गराउने गरेको छ । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठनले धेरै वर्षअघिदेखि विराटनगरमा सहुलियत दरमा एम्बुलेन्स सेवा दिँदै आएको थियो । पछिल्लो समयमा विराटनगर महानगरपालिकाभित्र निःशुल्क र बाहिर सहुलियत दरमा सेवा दिइरहेको नेता रायले बताए । उनले भने ‘एम्बुलेन्स सञ्चालन गरेर भएको आम्दानीले महासंघको कार्यालयको भाडा तिर्न र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न सहयोग पुगेको छ ।’

लामो समयदेखि सेवामूलक काम गरेपनि आफूहरुले यो विषयलाई अनावश्यक प्रचार र राजनीतिकरण नगरेको संघका अध्यक्ष ठकुरीले बताए । उनले भने ‘सेवा र व्यवसाय फरक कुरा हो, सेवाको विज्ञापन गर्नु र अझ राजनीतिकरण गर्नु ठीक होइन ।’बुधबार रवि लामिछानेले महिलाका लागि निशुल्क ब्लु बस सेवा सञ्चालन गरेको विषयलाई सञ्चार माध्यमहरुले प्राथमिकता दिएर प्रकासन र प्रशारण गरेपछि निशुल्क शव वाहन सेवा दिँदै आएका रवि ठकुरीले भने ‘सर्वसाधारण असहाय सबैका लागि निःशुल्क शव वाहन, एम्बुलेन्स, मलामी बस संचालन गरेको ६ महिना भैसक्यो । हामीले न स्टन्ट गर्यौं न त प्रचारप्रसार, यसक्रममा सयौं सर्वसाधारणले सेवा पाइसके । सेवा र व्यवसाय फरक हो । सेवाको विज्ञापन गर्नु ठिक होइन । अहिले हाम्रै बाटो पछ्याउँदै रास्वपाका सभापति रवि लामिछानेले आफ्नै निर्वाचन क्षेत्रमा असहाय बाहेकका महिलाहरुले भाडा तिर्नु नपर्ने गरि महिलाहरुकै लागि ब्लु बस संन्चालन गर्नुभएछ । यातायात व्यवसायतिर आउनुभएछ खुसी लाग्यो ।’