विराटनगर । संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतलका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको हो ।
मंगलबार बसेको बैठकमा सहमति नजुटेपछि आज पुनः परिषद्को बैठक बसेको थियो । बैठकमा अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल भएको बताइएको छ ।
छोटो समयका लागि प्रधानन्यायाधीश नियुक्त भएका हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ । प्रधानन्यायाधीशको पदावधि सकिनुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएपनि ढिला भएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको लागि योग्यता पुगेका धेरै न्यायाधीश भएपनि वरियताका आधारमा नै प्रधानन्यायाधीशको सिफारिस हुँदै आएको छ । संवैधानिक परिषदले गरेको सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्त हुनेछ । श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।
संवैधानिक परिषद्ले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।

