काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, क्वीन्टल सुन प्रकरण छानबिनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने तर्क गरेकी छिन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको तर्क गरिन् ।

उनले भनिन् ‘सरकारले नचाहेको भए सम्भवतः यो सुन समातिने थिएन । यो सुन प्रकरण पनि हुने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा थप छानबिन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्छ ।’

उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले एयरपोर्टबाट ठुलो मात्रमा सुन बरामद गरेको छ। र त्यसको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढिरहेको छ ।’ उनले भनिन् ।