विराटनगर । बुधबार बिहान सुनसरी झुम्का कारागार बाहिर हातमा अबिर र फूलमाला बोकेका सर्वसाधारणको उपस्थिति थियो । जेलबाट कुनै भिआइपी निस्कँदा हुने जस्तो तामझाम केही थिएन । तर, एउटा निर्दोष मजदुरले अनाहकमा सहेको सास्ती अन्त्य हुँदै थियो, जसका कारण ती मजदुरका आफन्त हर्ष साट्न फूलमाला लिएर कारागारको ढोकैमा उभिएका थिए ।

केहीबेरमा मन्द मुस्कानसहित निस्किए लालबहादुर विश्वकर्मा र अरु दुई जना । इटहरी १९ फुलबारी टोलका बासिन्दा लालबहादुर तिनै मजदुर हुन्, जसले आफूले काम गर्ने साहुको बद्मासीका लागि जेल जानुपरेको थियो । न्यायिक लडाइँ तथा सामाजिक संघर्षका बलमा जेलमुक्त बन्दै गरेका तिनै लालबहादुरलाई बुधबार कारागार परिसरमा न्यानो स्वागत हुँदै थियो ।

त्यहाँ उपस्थित सर्वसाधारणले हातमा बोकेका माला उनीहरुलाई पहिर्याइदिए । अनुहारमा अबिर दलिदिए । छोरालाई लिन कारागारको गेटैमा पुगेका लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीताले गहभरी आँशु बनाउँदै भने ‘मेरो छोरालाई नखाको विष लागेको थियो ।’

यति भनेर उनीहरुको गला अवरुद्ध भयो । आफ्नो छोरालाई ग्वाम्लाङ्ग अंगालोमा बेरेर बुबाआमाले धेरैबेर अंगालो कसिलो पारिरहे । छेवैमा उभिएर हेरिरहेकी लालबहादुरकी पत्नी दिलकुमारीका आँखा पनि ओभाना थिएनन् । बुबाआमालाई ढोगेर लालबहादुर पत्नी छेवैमा पुगे । दुवैले आँखाकै इशारामा खुसी प्रकट गरे । दुवैको खुसी आँशु बनेर बगिरहेको थियो ।

गर्दै नगरेको गल्तीमा पनि ‘दोषी’ सावित भएपछि लालबहादुर र परिवारले भोगेको सास्तीको आकार फराकिलो छ । घरमा कमाएर ल्याउने व्यक्ति नै गर्दै नगरेको अपराधमा दोषी ठहर भएर जेलमा हुँदा परिवारले भोगेको सकस अकल्पनीय थियो ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएपछि लालबहादुर विक बुधबार कारागारमुक्त भएका छन् । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै विकलाई सफाइ दिएपछि उनी रिहा भएका हुन् ।

उच्च अदालतको आदेशको पत्र सुनसरीको झुम्का कारागारमा पुगेपछि उनी रिहा भएका हुुन् । उनी जेलबाहिर निस्कँदा भव्य स्वागत भएको थियो । सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रुपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले झण्डै ५ करोड रुपैयाँ भराउन आदेश दिएको थियो । निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्चले जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याएर उनलाई थुनामुक्त गरेको हो । उनले केही कागजमा गरेको हस्ताक्षरकै कारण साहुले दुनियाँलाई ठगेको अपराधको अपजस सहनु परेको थियो । अब सुन पसलमा कालिगढको काम गर्ने उनलाई करोडौंको बिगो तिर्नुपर्ने अवस्थाबाट अब मुक्ति मात्रै मिलेको छैन, उनले जेलबाट पनि छुटकारा पाएका छन् ।

तर, यो मजदुर परिवारको मनमा एउटा प्रश्नले भने बलियो गरी घर गरिरहेकै छ ‘यतिका समय थुनिनु पर्यो । काम र घर–व्यवहार चौपट बन्यो । परिवारका सदस्यले भोगेको मानसिक पीडाको हिसाब कसरी गर्ने ?’ २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि इटहरी तरहरामा सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए ।

अदालतमा २७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए । उजुरीमा अढाई वर्षदेखि ज्वेलर्समा कालिगढका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । २०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो । जसमा लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो ।

लालबहादुरबाट आफूहरु ठगिएको होइन भनेर सबैजसो पीडितले बकपत्र गरेका थिए । तर, सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाले विकलाई करोडौं विगो तोकेर जेल पठाउने आदेश गरेकी थिइन् । यसरी साहुको बद्मासीका कारण जेल परेका लालबहादुरलाई न्याय चाहियो भन्दै गत वर्ष हिउँदमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा‘‘जस्टिस फर लालबहादुर बिक’ अभियान चलेको थियो । ३३ वर्षका लालबहादुर जस्ताको छानो भएको सानो घरमा पत्नी दिलकुमारीसँग बस्दै आएका थिए । उनको घर नजिकै उनका बुवाआमा र दाजुको घर छ । दिलकुमारीसँग ११ वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा कालिगढका रूपमा कार्यरत थिए । १० धुर जमिन भएको उनको घर भएको ठाउँको जग्गा उनलाई बाबुले अंशमा दिएका हुन् । जसमध्ये ५ धुर जमिनमा उनको र बाँकी ५ धुरमा दाजुको स्वामित्व छ । ज्वेलर्समा काम गरेबापत् आम्दानी हुने मासिक २० हजार रुपैयाँ र ५ धुर जमिन नै लालबहादुरको सम्पत्ति थियो ।

५ धुर जमिनका मालिक लालबहादुर १८ करोडभन्दा बढी रुपैयाँ ठगी भएको एउटा घटनामा मुछिएर सुनसरीको झुम्का कारागारमा कैद सजाय भोगिरहेका थिए । उनी जुन ज्वेलर्समा काम गर्थे, त्यही ज्वेलर्सका सञ्चालकको बदमासीमा उनी पनि संलग्न रहेको भन्दै जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको थियो ।

उनले काम गर्ने इटहरी तरहराको सिंहदेवी ज्वेलर्स दीपक बिक गजमेरले चलाएको सुनचाँदी पसल हो, जसले अवैध रूपमा बैंकिङ कारोबार चलाइरहेको थियो। सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बकाइदा पासबुकसमेत छापेर बैंकिङ कारोबार चलाइरहेको ज्वेलर्सका मजदुर उनी केही पासबुकमा हस्ताक्षर गरेको भरमा फसेका थिए । त्यो पनि ज्वेलर्सका साहुले हस्ताक्षर गर्न लगाएकै कारण फसेका थिए ।
उनका छिमेकीहरू, स्थानीय जनप्रतिनिधिहरू, सामाजिक सन्जाल प्रयोगकर्ताहरू मात्रै होइन, ठगीमा परेर जाहेरी दिनेहरू समेतले उनी निर्दोष रहेको बताइरहेका थिए। तर, कानुनी रूपमा भने उनी दोषी ठहर मात्रै भएका थिएनन, ,उनको भएभरको सबै सम्पत्ति बेच्दा पनि असुलै हुन नसक्ने आकारको बिगो रकमको बोझले पनि थिचिएका थिए ।

सिंहदेवी ज्वेलर्सबाट आफूहरू ठगिएको भन्दै इटहरीकै सुकमित गुरूङ सहितका पीडितहरूले दिएको जाहेरी अनुसार परेको मुद्दामा २०७८ पुस १ गते सुनसरी जिल्ला अदालतले फैसला सुनाउँदै लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो । अदालतले उनीसहितका ४ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिवाना तथा बिगो रकम तिराउन आदेश दिएको थियो ।

अदालतले उनीहरू तीन जनाबाट उक्त रकम दामासाहीले भराउन भनेपछि लालबहादुरको भागमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ पर्न आएको थियो । त्यही रकम तिर्न नसकेपछि लालबहादुर झुम्का कारागारमा थिए । लामो समय अदालतमा उपस्थित नभएका उनले पैसा तिर्न नसक्ने अवस्था भएपछि २०७८ मंसिर २१ मा आत्मसर्मण गरेका थिए । ज्यालादारीबापत् मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने सुन पसलका मजदुरले गर्दै नगरेको अपराधमा यति धेरै सजाय भोग्नु परेको भन्दै उनलाई न्याय माग्ने अभियान चलेको थियो ।