विराटनगर ।  विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये दुई जनालाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती खोलाको पुल नजिक जंगलमा लुटेरा समूहको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोहितको हत्या उनीहरुले लुटपाट गर्ने उद्देश्यले गरेको पाइएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए । उनीहरुलाई धरान उपमहानगरपालिका १० पुतलीलाइनमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जंगलमा चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटेराले निशाना बनाए । ‘उनीहरु रोहितको जन्मदिन मनाउन घुमफिर गरेर विराटनगर फर्किने क्रममा थिए । मोटरसाइकल रोकेर रोहित र युवती पुल नजिकै बसिरहेका थिए । पैदल आएका तीनजनाले सुरुमा युवतीलाई पक्रिए । त्यसपछि अर्का युवाले रोहीतलाई पक्रिएर पेटमा पेस्तोल ताके । नजिकै युवतीको घाँटीमा खुकुरी ताकेर लुटपाट गर्न थाले । उनको गहना निकाल्न थाले । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि रोहित त्यहीँ ढले । गोली हान्ने मुख्य अभियुक्त तिमिल्सिना रहेको अनुसन्धानबाट खुलेको छ,’ डिआइजी बास्तोलाले भने, ‘लुटेरा समूह जंगलमा ११ बजेदेखि बसेको खुलेको छ । अनुकुल पर्नासाथ जो–कोहीलाई पनि लुटपाट गर्ने उद्देश्यले त्यहाँ उनीहरु बसेका थिए ।’युवतीको गहना लुटपाट गरेर उनीहरु पानमारा जाने जंगलतर्फ भागेको प्रहरीले बताएको छ ।युवतीले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो । रोहितको हत्या भएको १२ दिनपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । यो घटनामा कोशी प्रदेश प्रहरी कार्यालय, सुनसरी प्रहरी र संघीय प्रहरी कार्यालय धरानले संयुक्त रुपमा अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका तिमिल्सिना र तामाङ यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसेर छुटेको खुलेको छ । तिमिल्सिना जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि मात्रै छुटेका थिए । उनी लागुऔषध प्रयोगकर्ता समेत रहेको र यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको हो ।

उनीहरुले लुटपाटकै रकमले ४० हजारमा भारतको जोगवनीमा गएर पेस्तोल किनेको खुलेको छ । लुटपाट गरेको सामान भारतमा लगेर बेच्ने र भारतबाटै एक महिना अगाडि पेस्तोल किनेको अनुसन्धानमा संलग्न संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । ‘रोहितको हत्या गर्ने समूहले यही जंगलमा श्रृङ्खलाबद्ध लुटपाट गरेको देखिएको छ,’ उनले भने, ‘लुटपाट गरेको रकमबाट पेस्तोल किनेका थिए ।’

उनीहरुले हत्या तथा लुटपाटमा प्रयोग गरेका सामान समेत प्रहरीले बरामद गरेको छ । एउटा अटोमेटिक चाइनिज पेस्तोल, त्यसको गोली ९ राउण्ड, ५ वटा कालो झोला, महिलाले बोक्ने ब्याग ४ वटा, दुईवटा खुकुरी, बरामद गरेको छ । यस्तै पाँच थान मोबाइल र एउटा औंठी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

श्रृङ्खलाबद्ध लुटपाट

२०८० असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका १७ खैरेनी जंगलमा लुटपाट भएको थियो । एक जना महिलालाई नडाहबाट धरानतर्फ जाँदै गर्दा तीन जना अज्ञात व्यक्तिहरुले लाठी र खुकुरी देखाइ एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५०० रुपैयाँ उनीहरुले लुटपाट गरेका थिए । लुटपाटपछि उनीहरु फरार भएका थिए ।

२०८० असार २३ गते बिहान साढे ९ बजे धरान उपमहानगरपालिका १७ खैरेनी जंगलमा एक दम्पती लुटपाटमा परेका थिए । धरानबाट प्रकाशपुर जाँदै गर्दा मोटरसाइकलमा रहेका दम्पतिलाई जंगलबाट निस्किएका पाँच जनाको समूहले खुकुरी देखाएर मोटरसाइल रोकेका थिए । त्यसपछि दम्पतिको साथमा भएको नगद तथा गरगहना लुटपाट गरे । उनीहरुबाट दुई तोलाको सिक्री, आधा तोलाको सुनको नवरत्न औंठी, एक तोलाको बेरुवा औंठी, ५ आनाको कानमा लगाउने पिंजडा, ४० हजार रुपैयाँ पर्ने घडी, महिलाको पर्स, ल्यापटप ब्याग, रेनकोट, २ थान मोबाइल र १५ हजार रुपैयाँ लुटपाट भएको थियो ।

२०८० असार ३१ गते दिउँसो साढें ४ बजेतिर धरान कालाबन्जर सडकमा लुटपाट गरेका थिए । धरान उपमहानगरपालिका १७ स्थित धरान कालाबन्जरा सडकखण्डमा धरानबाट कालाबन्जरतर्फ जाँदै गरेका एक जना पुरुष लुटपाटमा परेका थिए ।मोटरसाइकलमा रहेका ती पुरुषलाई खुकुरी र पेस्तोल देखाएर मोटरसाइकल रोक्न लगाएका थिए । त्यसपछि उनको साथमा रहेको ५२ हजार रुपैयाँ र ५ हजारको प्रसूति सम्बन्धी औषधि समेत लुटेर फरार भएका थिए । यस्तै, तीन थान चेकबुक, बच्चाका तीन जोर लुगा, इस्टकोट, ज्याकेट र जग्गाको नक्सा लगायतका अन्य कागजातहरु समेत लुटपाट गरेर भागेका थिए ।

यसरी एक महिनामा श्रृङ्खलावद्ध अपराधमा संलग्न समूह प्रहरीको फन्दामा परेको डिइआजी बास्तोलाले बताए ।