विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएपछि लालबहादुर विक बुधबार कारागारमुक्त भएका छन् ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै विकलाई सफाइ दिएपछि उनी रिहा भएका हुन् ।

उच्च अदालतको आदेशको पत्र सुनसरीको झुम्का कारागारमा पुगेपछि उनी रिहा भएका हुुन् । उनी जेलबाहिर निस्कँदा भव्य स्वागत भएको थियो ।

सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रुपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले झण्डै ५ करोड रुपैयाँ भराउन आदेश दिएको थियो । निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्चले जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याएर उनलाई थुनामुक्त गरेको हो ।

छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए ।