विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् । जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरुले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो ।