विराटनगर । विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ ।‘रोहित र किशोरी सेउति पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगल भागेको देखिएको छ, ’ उनले भने ।
रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् । उनीहरूले यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए ।
उनका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान – इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए । पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।
२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

