विराटनगर । सुनसरी धरानको सडक खण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोलसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजनिक गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । ‘पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिनेछौँ,’ डिआइजी बास्तोलाले भने, ‘ अहिले मैले यति भने ।’ यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रूपमा अनुसन्धान गर्दै आएको छ ।
साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । साथीसँग मूल घाटबाट विराटनगर आउने क्रममा जंगलमा उनको दाहिने कोखमा गोली लागेको थियो । उपचारको क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

