विराटनगर । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् ।

गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बन्नको लागि बहुमत जुटाउन राजीनामा दिएका उनलाई गठबन्धनले मन्त्री बनाउने भएको हो ।

गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पुष्टि गरे । मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहनेगरी गौतमलाई मन्त्री बनाउन लागिएको हो । उनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्ने संभावना रहेको छ ।यसअघि सो मन्त्रालय माओवादीकै भागमा रहेकोले गौतम नै सो मन्त्रालयको मन्त्री बन्ने बताइएको छ ।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय गरिएको प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री जीवन आचार्यले जानकारी दिए । यसअघि आचार्यले मन्त्री दावी गरेको प्रचार भएकोमा उनले आफूले यसपटक मन्त्रीको दावी नगरेको बताए । उनले केन्द्रीय समिति बैठकको लागि काठमाण्डौं हिँडेको जानकारी दिँदै साँझ माओवादीबाट गौतमले सपथ लिने बताए ।

मुख्यमन्त्री थापाले आज साँझ ५ बजे पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । उनले सपथलगत्तै तीन जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । माओवादीका गौतम, काँग्रेसका प्रदिप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जबेगु आज मन्त्री नियुक्त हुनेछन् । यद्यपी दलहरुले त्यसको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

यसअघि थापा मन्त्री बन्दा माओवादीका जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । अन्य मन्त्रीको भने कार्यविभाजन नहुँदै थापाको सरकार सर्वोच्च अदालतको आदेशमा बर्खास्त भएको थियो । यस पटक भने कार्यविभाजन पनि टुंगो लगाएर मन्त्रीहरुको सपथ गरिने मुख्यमन्त्री थापाले जानकारी दिएका छन् ।

मुख्यमन्त्री थापाका अनुसार अहिले दलहरुबीच मन्त्रालयको कार्यविभाजनबारे छलफल भइरहेको छ । मन्त्रालयको भागबण्डा गरेपनि मन्त्रिमण्डलले भने मुख्यमन्त्रीको सपथपछि मात्र पूर्णता पाउने सहमति गठबन्धनबीच रहेको बताइएको छ ।