सुन प्रकरणबारे छानबिनका लागि तयार छु : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा बारेमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् ।

सोमबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै छानविन गर्न माग गरे ।

‘कुन निकायले छानबिन गर्नुपर्ने हो, ममाथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु,’ उनले भने, ‘म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।’ प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीबिरुद्ध चलाएको अभियानलाई आफ्नो व्यक्तिगत चरित्रहत्या गर्नेगरि प्रचार गरिएको उनको गुनासो छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेका दावा छिरिङ र वर्षमान पुनको परिवारिक भेटघाटका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । त्यसबारे प्रष्ट पार्दै पुनले ८ वर्ष पहिले पारिवारिक जमघटमा भएको फोटोलाई अहिले प्रचार गरिएको बताए ।

सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने पुनको भनाइ छ । उनले पार्टीको पदाधिकारी बैठकमा पनि आफुले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा पनि विशेष समय लिएर बोल्दै सांसदसमेत रहेका पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताएका थिए । सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे ।

पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।
गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएकोबाहेक दावासँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।

सोमबार, १५ साउन, २०८०, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर