एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ खालको छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको बताएका छन । उनले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ खालको भएको आरोप लगाए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए ।

महामन्त्री शर्माले भने, ‘ हामी त सभापति देउवालाई जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा । तर पनि युवाहरू छौँ है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर हामी त प्रतिस्पर्धा गर्‍यौँ त । शेरबहादुर देउवा र गगन थापा सँगसँगै मुस्कुराउँदै उम्मेदवारी दर्ता गराउनु भयो त । तपाईँहरूले चाहिँ किन नगर्नु भएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने । हाम्रो त यस्तो अवस्था छ । त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरूले नराम्रो मान्न हुँदैन ।’

महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए ।

शनिबार, १३ साउन, २०८०, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर