विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अन्य दलहरुले मुख्यमन्त्री लिएर अगाडि बढ्ने हो भने एमाले बाधक नबन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन् । ‘मुख्यमन्त्री भन्ने कुरा नै ठूलो कुरा होइन । मुख्यमन्त्री दिन जो सुकैलाई पनि सकिन्छ । आफूसँग बहुमत भएन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन । तर भागबण्डाका लागि चार पाँचवटा दलमा यतियति महिना, यति वर्ष भन्ने भागबण्डा गर्ने कुरा उचित होइन । यो एजेण्डा हाम्रो होइन,’ कार्कीले भने ।
उनले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने कुरामा आफू ओपन रहेको पनि बताए । ‘मेरो मान्यता के छ भने अहिले देशका दुईवटा ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा यदि मुलुकको डेडलकलाई फुकाउने, संविधानलाई संस्थागत गर्ने, कानूनी राज्यलाई स्थापित गर्नेलगायतका राजनीतिक मुद्दामा कुरा मिल्छन् भने हामी मिलेर अगाडि बढ्न तयार छौं,’ कार्कीले भने । यद्यपि काँग्रेससँग भागबण्डा गर्नका लागि काँग्रेस नै स्पष्ट भएर आउनु पर्नेमा उनले जोड दिए ।
उनले अहिले पनि सहमतिय सरकारमा बल गर्नुपर्नेमा जोड दिए । ‘मैले १०० दिन सरकारको समयावधि पुरा भएपछि सहमतिय ससरकार बनाउँ भनेको हो । अहिले पनि हामी त्यसमा ओपन छौं,’ कार्कीले भने, ‘कोशी प्रदेशको सरकार अहिले कामचलाउमा फर्किएको छ । १७ गतेपछि पूर्ण सरकार पाएर अगाडि बढ्छ ।’
उनले आफूले हालेको रिटमा सर्वोच्चले सकारात्मक फैसला गरेको बताउँदै उनले गठबन्धनले गरेको गल्तीको कारण संविधान मिच्ने काम भएको बताए । यद्यपि प्रदेश प्रमुखले र सभामुखले राजनीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा उनले केही बोलेनन् ।
‘यो गम्भीर प्रकृतिको गल्ती कमजोरी थियो । यसमा मैले अहिले प्रदेश प्रमुखलाई, सभामुखलाई वा कुनै अमुक व्यक्तिलाई भन्ने भन्दा पनि केन्द्रीय गठबन्धनको गलत निष्कर्ष, गलत निर्देशन र गलत रवैयाका कारणले संविधान मिच्ने, मुलुकलाई तानाशाहीकरण गर्दै लैजाने, मुलुकलाई स्वेच्छचारिता ढंगले लाने र विधिको शासनलाई अन्त्य गर्ने कुरा भएको छ,’ उनले भने, ‘त्योप्रति हाम्रो विरोध आलोचना रहन्छ । व्यक्तिले गरेको गल्ती कमजोरी सर्वोच्चले सच्याएको छ । फेरि नदोहोर्याउन म आग्रह गर्दछु ।’
उनले कोशी प्रदेशमा मध्यावधि हुने सम्भावना नरहेको बताए । यस्तै उनले अदालतको आदेशपछि आफूले मुख्यमन्त्रीको हैसियतले र अन्य मन्त्रीहरुले मन्त्रीहरुको हैसियतले काम गर्ने पनि बताए । अदालतले दिएको १७ गतेको समयावधिमा आफ्नो दल एमालेले पनि बहुमत दाबी गरेर जाने सम्भावना रहेको बताए ।
‘साना–साना दलहरु जान्छन् भने ठूलो दल नजाने कुरै हुँदैन । हामी अहिले ४० सिटको दल हौं । अरु दलहरुसित हाम्रो कुराकानी भइरहेको छ र कुनै पनि दलको समर्थन प्राप्त हुने वित्तिकै हामी १७ गतेभित्रै बहुमतको दाबी गर्छौं,’ उनले भने, ‘त्यसका लागि हामी कुराकानीकै क्रममा छौं । त्यसमा केही भन्न सकिँदैन । कहिलेकाँही १ सिट कम पनि हुन्छ । कहिलेकाँही ६० सिट पनि पुग्छ ।’