विराटनगर । बराक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका सचिवालयका सदस्यहरुले पत्रकार सुविन विश्वकर्मालाई ज्यानमार्ने धम्की दिएका छन् । समाचार लेखेको बिषयलाई लिएर सचिवालयका सदस्य तथा तरुण दलका नेताले विश्वकर्मालाई ज्यानमार्ने धम्की दिएका हुन् ।मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेत पत्रकार विश्वकर्माको घरमै पुगेर हातखुट्टा भाँचिदिने र ज्यान मारिदिने भन्दै भन्दै धम्क्याएको पीडितले बताएका छन् ।
बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको कामका विषयमा ‘हाम्रो शब्द’ अनलाइनमा समाचार प्रकाशन भएको थियो । सोही विषयमो मंगलबार विश्वकर्माको घरमा पुगेर उनीहरुले धम्की दिएका हुन् ।
विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिति सदस्य तथा बराक्षेत्र नगर कार्य समितिका सदस्य समेत हुन् । समाचरको विषयमा चित नबुझेमा खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने आदि प्रक्रिया हुँदाहँुदै उनीहरुले पत्रकारलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी धम्की दिएको घटनाप्रति ध्यानकर्षण भएको जनाएको छ । महासंघले नगरप्रमुख रमेश कार्कीको सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले घरमै गएर ‘हातखुट्टा भाचिदिन्छु’ भन्दै धम्की दिएको र तरुण दलमा आबद्ध भविन चाम्लिङ राईले ९८६७८२२२७३ नम्बरको मोबाइलबाट फोन गरी ‘जहाँ भेट्छु, त्यहि पड्काइदिन्छु’ भन्दै आक्रमणको धम्की दिएको जनाएको छ ।
समाचारको विषयमा चित्त नबुझे त्यसको सुनुवाई गर्ने कानुनी प्रक्रिया र स्थापित बिधि भएपनि त्यसविपरित पत्रकारलाई बारम्बार धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्र नभएर अपराधिक कार्य भएको महासंघले जनाएको छ ।बारम्बारको धम्कीको कारण पत्रकार विश्वकर्माको भौतिक सुरक्षामै चुनौती उनको सुरक्षाको प्रबन्ध गर्न, धाकधम्की दिनेहरुलाई तत्काल कानुनी कार्वाहीको दायरामा ल्याउन तथा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न महासंघले सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।
नगरप्रमुख कार्कीको सचिबालयसँग जोडिएका व्यक्तिहरुबाट पत्रकारहरुमाथि बारम्बार धम्की आउनुले नगरप्रमुखको नियतमाथि पनि गम्भीर प्रश्न खडा भएको भन्दै महासंघले यसप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न भनेको छ । साथै ज्यानमार्ने धम्की दिने अपराधिक कार्य गर्नेलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न र स्वतन्त्र एवं निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण तयार गर्न नगरप्रमुख कार्कीलाई आफ्नो मातहतमा हुने अवाञ्छित गतिविधि रोक्न चेतावनी पनि दिएको छ । यसैबीच प्रेस चौतारी नेपालले पनि घटनाप्रति आपत्ति जनाउँदै मेयर कार्कीले माफी माग्नु पर्ने बताएको छ ।