सुन तस्करी प्रकरणमा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको थियो ।

एमाले सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

एमालेको अबरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गते बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । साउन १५ गते सोमबार दिउँसो १ बजे अब प्रतिनिधि सभा बैठक बस्नेछ ।

प्रतिनिधिसभाको आजको बैठक सुरू हुनेबित्तिकै पनि एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए। त्यसपछि प्रमुख सचेतक गिरीले बैठकमा बोल्दै सुन प्रकरणबारे छानबिन गर्न माग गरेका थिए।

त्यसपछि अन्य दलका सांसदहरूले पनि आकस्मिक समयमा धारणा राखेका थिए। सभामुख घिमिरेले आकस्मिक समय सकेर शुन्य समय सुरू गर्न लागेपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।

एमालेले सुन तस्करीलाई सरकारले सहयोग गरिरहेको आरोप लगाउँदै गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको थियो ।

बुधबार, १० साउन, २०८०, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर