काठमाडौं । भ्रष्टचारविरुद्धको अभियानको नेतृत्व गरिरहेका वर्तमान सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आएका नेपाली काँग्रेसका सांसद सुनिल शर्माको मेडिकल कलेजले ठगी गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शर्माले सञ्चालन गरेको काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले मंगलबार कलेज अगाडि प्रदर्शन गरे । उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि २०७७ सालमा सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको भएपनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये सरकारको निर्देशनपछि ५ लाख रुपैयाँ मात्र फिर्ता पाएको भएपनि बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको विद्यार्थीहरुको गुनासो छ ।
पछिल्लो समयमा सरकारले भ्रष्टाचार विरुद्धको अभियान तीब्र बनाएपछि सार्वजनिक रुपमा सांसद शर्माले गृहमन्त्रीको विरोध गर्दै राजनीतिमा माग गर्दै आएका छन् । ललिता निवास प्रकरणको अनुसन्धान प्रहरीले थालेपछि नै उनले गृहमन्त्रीको राजीनामा माग गरेका थिए । पछिल्लो समयमा तस्करीको सुन बरामद भएपछि उनले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।
प्रतिनिधिसभा र संसदीय समितिमा सरकारले सुशासन कायम गर्न नसकेको भन्दै चर्को अभिव्यक्ति दिने शर्माको कलेजले यसअघि पनि चर्को शुल्क लिएको सार्वजनिक भएको थियो । बढि शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई कार्वाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएपछि शर्माले केहि रकम फिर्ता गरेपनि सबै रकम फिर्ता नगरेको विद्यार्थीहरुको भनाइ छ ।
पहिला लिएको शुल्क फिर्ता माग्दा इन्टर्नको बेला फिर्ता दिने बताएकोमा अहिले दिन नकिने जवाफ दिएकोले आन्दोलनमा उत्रनु परेको विद्यार्थीहरुको भनाइ छ । संसद शर्माको स्वामित्वमा काठमाडौंको केएमसी, विराटनगरको नोवेल र काठमाडौंकै पिपल्स डेण्टललगायतका मेडिकल कलेज सञ्चालनमा छन् ।