काठमाडौँ । कानुन मन्त्रीसमेत रहेका काँग्रेस उपसभापति धनराज गुरुङले काँग्रेसलाई जलाएर खरानीको टिका लगाउने काममा आफू संलग्न हुन नसक्ने तर्क गरेका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित ४१औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रूपमा पार्टी हित विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
उनले भने ‘ काँग्रेसको घर जलाएर खरानीको टिका लगाएर त्यही खरानीको व्यापार गर्ने यात्रामा धनराज गुरुङ कहिले पनि हुँदैन । काँग्रेसलाई होचो बनाउने पाटीलाई तल पार्ने गरेर सार्वजनिक रूपमा कसैले पनि भाषण दिने मन्तव्य दिने कुराहरू सँग म सहमत छैन । ’
भित्र लडौला, छलफल गरौला तर मन्तव्य अभिव्यक्ति दिने बेला काँग्रेसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको तर्क छ ।