सम्पादकीय
सभापति शेरबहादुर देउवाको लगभग देवत्करण, भ्रष्टाचार मुद्दामा जेलमा रहेका नेता बालकृष्ण खाँणको बचाउ अनि पार्टी रुपान्तरणको माग र अभियान सन्चालन गरिरहेका दुई महामन्त्रीहरुको कडा आलोचना यसपटकको नेपाली काँग्रेस केन्द्रीय बैठकका मुख्य विशेषता रहे । आफूलाई मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने काँग्रेसभित्र हाबी रहेको व्यक्तिवाद थप उजागर गर्न, सार्वजनिक मन्चहरुमा सुशासनको गफ दिएर नथाक्नेहरुले भ्रष्टाचारमा मुछिएकाहरुको बचाउमा खर्चेको ऊर्जाका लागि पनि काँग्रेसको यो बैठक सम्झनामा रहनेछ । काँग्रेस बैठकले पार्टीलाई कसरी नयाँ दिशानिर्देश गर्यो ? केन्द्रीय सदस्यहरु नै रनभुल्ल हुने अवस्था उनीहरु आफैले निर्माण गरेका छन् । एउटा जीवन्त लोकतान्त्रिक दलको बैठक अमुक नेताको प्रशस्तिमा खर्च हुनु समयको बर्बादी मात्रै होइन, काँग्रेसको जीवनका लागि घातक पनि हो । आत्मश्लाघामा मुग्ध काँग्रेसले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा कम्तीमा यो अवस्थामा गर्न सकिन्न ।
विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने काँग्रेस केन्द्रीय समिति बैठक यसपटक एक वर्षपछि भयो । लामो समयपछि आयोजित केन्द्रीय बैठकले पार्टी, मुलुक, सरकार र आगामी दिनबारे धेरै महत्वपूर्ण बहस गर्ने र त्यही आधारमा दिशानिर्देश गर्ने आम अपेक्षा काँग्रेसतिर थियो । कम्तीमा काँग्रेसका कार्यकर्ता, शुभेच्छुकहरुले यति अपेक्षा गर्नु स्वाभाविक थियो । मुलुकको सबैभन्दा ठूलो दल भएका कारण पनि काँग्रेस बैठकतिर धेरैको नजर थियो । अझ सभापति शेरबहादुर देउवा यसपटक उदार बनेर बैठक ‘लाइभ’ गरेपछि उनको प्रशंसा नै भयो । तर, केन्द्रीय बैठकमा दुई तिहाईभन्दा बढी समर्थकसहित उपस्थित सभापति देउवालाई यो बैठकले झनै शक्तिशाली देखाएको छ । हरेकजसो सदस्यले कडा प्रतिरक्षा मात्रै होइन, देउवाको शैलीलाई समर्थनको हौसला दिएपछि उनको मनोबल अझै उच्च भएको हुनुपर्छ । काँग्रेस बैठकले भुलेको प्राथमिकता यही हो ।
मुलुकले अहिले खेपिरहेको आर्थिक संकट, यसबाट मुलुकलाई पार लगाउने उपायबारे काँग्रेस बैठक मौन जस्तै देखियो । मुलुकका अन्य जल्दाबल्दा समस्याहरुभन्दा केन्द्रीय सदस्यहरुका लागि देउवाको प्रतिरक्षा मुख्य प्राथमिकता भएपछि उक्त पार्टीका नेताहरुसँग ठूलो अपेक्षा गर्नु व्यर्थ छ । यसबेला काँग्रेसका केन्द्रीय सदस्यहरुतर्फ अहिले सोझिने मुख्य प्रश्न हो, के पार्टी र मुलुक उनीहरुले भने जस्तै गरी सहिसलामत अघि बढिरहेको छ ? सभापति देउवाले विधान र कार्यकर्ताको अपेक्षा अनुसार पार्टी हाँकिरहेका छन् ? भए जति भ्रातृ संस्थाहरुको भद्रगोल, अनियमित बैठक, न कुनै कार्ययोजना, न कुनै कार्यक्रम चलिरहेको पार्टी सहिसलामत छ भन्नु किमार्थ सही होइन । यस्तो अवस्थामा पार्टीलाई पुनः जागृत गराउने उपायको खोजीमा भन्दा काँग्रेस नेताहरु किन सभापतिको प्रशंसामा रमाए ? उत्तर त्यति कठिन छैन । शक्तिशाली सभापतिलाई प्रश्न गर्नु वा आलोचना गर्नु पार्टीमा अवसरहरुबाट विमुख बन्नु हो । त्यस्तो जोखिम काँग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यले मोलेनन् । यो जोखिम नमोल्दा काँग्रेस तंरगित हुनु परेन । यसको अर्थ पार्टी घिसीपिटी चलिरहने भयो । खाइपाई आएको पद र अवसर मिलिरहने भयो । यो तदर्थवादी सोचले नै काँग्रेसलाई रुपान्तरण हुनबाट रोकिरहेको यसपटक अझ प्रष्ट भयो ।
सबैभन्दा ताजुबलाग्दो विषय त के भने भ्रष्टाचार मुद्दामा परेर अहिले पुर्पक्षका लागि जेल परेका बालकृष्ण खाँणका पक्षमा काँग्रेसका धेरै नेता उभिए । गम्भीर अभियोग लागेर थुनामा रहेका नेतालाई गुटको आडमा जोगाउन कसले कति भूमिका गरे भन्ने पनि यसपटक छर्लङ्ग भयो । खाँणको पक्षमा उभिएका काँग्रेस केन्द्रीय सदस्यहरुले आगामी दिनमा सुशासन र भ्रष्टाचाररहित समाजका पक्षमा कसरी आफूलाई उभ्याउने हुन् ? यसको लेखाजोखा आगामी दिनमा हुने नै छ । तर, आफ्नो निर्मम समीक्षा गर्दै आगामी बाटो तय गर्ने मुख्य जिम्मेवारी भने काँग्रेस बैठकले भुलेको छ ।