मन्त्री मोदीद्वारा लोहन्द्रा पुल उद्घाटन

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ग्रामथान र बेलबारी जोड्ने लोहन्द्रा खोलाको पुलको उद्घाटन गरेका छन । सोमबार उनले पुलको उद्घाटन गरेका हुन् ।

लोहन्द्रा खोलामा २०७४ साउनमा आएको बाढीले बेलबारी–५ र ग्रामथान जोड्ने पुल बगाएपछि नयाँ पुल निर्माण गरिएको हो । पुल नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुँदै आएको थियो

धरानको सूर्या एण्ड सन्स प्रालिले २०७५ वैशाख १३ गतेदेखि ९७ मिटर लामो पुलको निर्माण शुरु गरेको थियो । पुलको उद्घाटन गर्दै मन्त्री मोदीले संघीयतालाई मजबुत बनाउनका लागि जनताको साथ चाहिने बताएका छन् । उक्त पुलले सुनसरीको दुहबी, मोरङको तेतरिया, मोतिपुर हुँदै झापा जाने सडकलाई जोड्ने छ ।

त्यसक्रममा मन्त्री मोदीले संघीयता बलियो बनाउनु पर्ने बताए । ‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ’ मन्त्री मोदीले भने, ‘संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन ।’

संघीयता कार्यान्वयनमा केही कमजोरी देखिए पनि संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरू हुन नसक्ने उनको जिकिर थियो । समानुपातिक समावेशिता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको उनले बताए । मन्त्री मोदीले आफ्नो उदाहरण दिँदै भने ‘एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिताका कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एकजना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरू हुन सक्दैन ।’

सोमबार, ०८ साउन, २०८०, रातीको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर