प्रेम पुरी
अहिले नेपालका गुट्खा (भोला) उद्योगलाई अन्याय भएको छ । नेपाल सरकार, प्रदेश सरकारले उद्योग चलाउन दिएको छ । विराटनगर लमहानगरपालिकाले भने चुरोट बेच्न पाइयो, रक्सी बेच्न पाइयो, जर्दा बेच्न पाइयो । तर, गुट्खा बेच्न पाइएन भन्ने नियम लगाएको छ । मेरो विचारमा नियम त सबैको लागि समान हुनुपर्ने हो । कि त भन्नुप¥यो सूर्तिजन्य कुनै पदार्थ बेच्न पाइएन । यहाँ त सूर्तिजन्य पदार्थमा गुट्खा बेच्न नपाउने, चुरोट बेच्न पाउने अवस्था छ । अर्को कुरा भारतबाट जतिपनि चोरी पैठारी भएर माल आइरहेको छ । तर, नेपालमै उत्पादन भएर कर तिरेको माल चाहिं चोरी गरेर व्यापारीले बेच्नु पर्ने अवस्था आइरहेको छ । गुट्खा, रक्सी, चुरोट भनेर तपाईले भनेर, मैले भनेर वा आमाले भनेर खान थालेको पनि होइन र छोड्ने पनि होइन । यो कसैले प्रतिबन्ध लगाएर छुट्ने कुरा पनि होइन ।
यत्रो कोभिड महामारी आएको थियो त्यसबेला पनि मानिसले रक्सी चुरोट खान छोडेन । भोला गुट्खा खान छोडेनन् । महानगरको पहिलेको निर्णय थियो सार्वजनिकस्थलमा खान नदिने । तर, अहिले त प्रतिबन्ध लगाइदियो । भोला गुट्खा उद्योगले कम्तीमा पनि १० हजार जनालाई नेपालमा रोजगारी दिएको छ । ती उद्योगले वार्षिक ५ अर्बभन्दा बढीको कर तिर्छन् नेपाल सरकारलाई । ती उद्योगले इज्जत पाउनु पर्ने कि बेइज्जत ?
विराटनगरमा बेच्नकै लागि तस्करी गर्नुपर्ने ? महानगरपालिकामा बेच्न पाइएन तर, हाटखोला पुलपारी गएर बेच्न दिने भनेको चाहिँ के हो ? यो त बोडर्रबाट क्यारिङ गरेर तस्करी गर्नेलाई जस्तो व्यवहार स्वदेशी उद्योगमाथि भइहेको छ किन ? । तर, यहाँ भोला गुट्खा त आन्तरिक देशभित्रै तस्करी गर्नुपर्ने अवस्था आयो ।
साधारण काम गर्ने मान्छेले भ्याट बिलमा सामान किनेर बिक्री गरिरहेको थियो । प्रतिबन्ध नै लगाउने हो भने उद्योग नै बन्द गर्न लगाउँदा भइगयो नि ! तर, व्यापार गर्दा त कर तिरेरै गरेका छन् । अब ती उद्योगलाई कस्तो अप्ठ्यारो परेको छ भने रोजगारमा लगाएका मजदुरहरु अहिले रमिता हेरेर बस्नुपर्ने अवस्था छ । उनीहरुलाई उद्योगले कसरी तलब दिएर राख्न सक्छ ? बजारमा लगानी फसिरहेको छ । कसरी उठाउन सक्छ ?
विराटनगरमा मात्रै मासिक २/३ करोड रुपैयाँ बराबरको भोला गुट्खा विक्री हुन्थ्यो । अहिले पनि त्यति नै विक्री भै नै रहेको छ । विक्री हुनु नहुनु भन्दा पनि मुख्य सरोकार भनेको सबै प्रक्रिया पुरा गरेर अनुमति लिएर उत्पादन गरेको सामान विक्री गर्न तस्करी जस्तै गर्नुपर्ने अवस्था आयो । महानगरले प्रतिबन्ध लगाएको कारण बिक्री वितरण रोकिनु भन्दा कालोबजारीमा बिक्री हुँदा उपभोक्तालाई महँगो परिरहेको छ । मानौं नेपालको उद्योगले भोला गुट्खा बिक्री गर्दा मासिक १० लाख रुपैयाँ ट्याक्स बुझाउँछ । तर, ती उद्योगले एक महिना बन्द गरेभने भारतबाट २ नम्बरी गुट्खा आउँदा कोही कसैले रोक्न सक्ने अवस्था छैन, रोकिएको पनि छैन । त्यहाँ नेपाल सरकारलाई प्राप्त हुने ट्याक्स गुम्यो कि गुमेन ? अहिले पनि २ करोडको भोला गुट्खा नेपालको बिक्री हुँदा अवैध तरिकाले भारतबाट ५ करोडभन्दा बढीको आउने गरेको छ । रानी भन्सार क्षेत्रमा कडाइ गरेको छ । तर, क्यारिङबाट ल्याउनका लागि कटहरीदेखि कप्तानगन्जसम्म चोरबाटो धेरै छन् । एउटा साइकलवालाले चाह्यो भने एक दिनमा डेढलाखसम्मको रजनीगन्धा तुलसी लिएर आउँछ । त्यो उसले ल्याएको खण्डमा नेपाल सरकारले के पाउँछ ? अहिले पनि निरन्तर आइरहेको छ ।
विराटनगरमा प्रतिबन्ध लगाएपछि भोला गुट्खाको कुनै अभाव देख्नुहुन्छ ? कुनै अभाव छैन । बरु मूल्य बढेको छ । तर, बिक्री वितरण रोकिएको छैन । १ सय प्रतिशत पाइरहेको अवस्था छ । त्यसो हो भने विराटनगरमा प्रतिबन्ध लगाउनुको औचित्य के रहयो ? प्रतिबन्ध लगाउने हो भने पूरै प्रदेशभर लगाउनु पर्छ । अहिले त ढाटमा पुगेर, हाटखोला पुगेर वा मिलनचोक पुगेर भोला गुट्खा सर्वसाधारणले साइकलमा ल्याउने गरिरहेका छन् । यो कहिलेसम्म हुन्छ ? औसतमा ५ प्रतिशत मानिसले भोला गुट्खा खान्छन् । गुट्खा खाँदा क्यान्सर हुन्छ । चुरोट खाँदा हुँदैन ? चुरोट बेच्न दिने गुट्खा बेच्न किन नदिने ? रक्सी खाँदा मान्छे मात्छ, दुर्घटना हुन्छ, झैझगडा हुन्छ, मृत्यु हुन्छ । सबैभन्दा जरो त त्यो हो । बन्द गर्ने हो भने सबैलाई बन्द गर्न आवश्यक छ । नेपालमै प्रतिबन्ध लगाऔं । नियम सबैलाई समान ढंगले लाग्नुपर्छ ।