कोशी व्यारेज । असार २९ गते शुक्रबार बिहान ७ः३० बजे सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलबाट एउटा मालबहाक ट्रक कोशी नदीमा खस्यो । उक्त ट्रक नदीमा खसेसँगै तीन जना मानिसको ज्यान पनि खतरामा प¥यो । त्यही वेलामा एक जना मानिस दौडिएर आए र कोशीमा हाम्फालेर पौडिँदै गएर उनले तीनै जनाको ज्यान बचाए । ज्यान बचाउने भूमिकामा देखिएका उनी थिए कोशी ब्यारेज भन्सार कार्यालय छेउमै बसोबास गर्ने चन्दर मुखिया ।
मुखिया ब्यारेजमा माछा मार्ने, कोशी नदीले ल्याएका मुढा झिकेर दाउरा बेच्ने र जीविका चलाउने गर्छन् । उनका ४ सन्तान र एक श्रीमती छिन् । सबैको गुजाराका लागि उनी ब्यारेजमा ज्याला मजदुरी गरिरहन्छन् । तर, उनको भूमिका त्यतिमात्रै छैन । आपत विपत्मा कोशीको भेलमा हाम्फालेर पौडने र मानिसहरुको उद्धार गर्ने काममा उनै अगाडि सर्छन् ।
‘म चिया खाइरहेको थिएँ । ट्रक झ¥यो दौडेर आएँ अनि हाम्फालेर मानिस बचाएँ । मेरो काम नै यस्तै हो । हामी माछा मार्ने, मुढा निकाल्ने काम गर्छौं,’ त्यसबेलाको घटना सुनाउँदै मुखिया भन्छन्, ‘ट्रक झरेको ९ नम्बर गेटसम्म आउन २ मिनेट लाग्यो, मान्छे निकाल्न ३ मिनेट जति लाग्यो ।’ ११ वर्षदेखि कोशी ब्यारेजलाई नै जीविकोपार्जनको थलो बनाएका उनले धेरै पटक कोशीमा झरेका बस तथा ट्रकमा सवार मानिसको उद्धार गरेका छन् । खोलामा हाम्फालेर ज्यान फाल्न खोज्ने मानिसहरुलाई पनि उद्धार गरेका छन् ।
‘बस र ट्रक वा मानिसहरु खोलामा हाम्फाल्न खोजे जोगाउँछौं । केही दिन अगाडि २ नम्बर ढोकामा बसेर एक महिला रोइरहेकी थिइन् । के भयो भनेर सोद्धा कोशीमा मोवाइल खसेको रहेछ । उनले मोवाइल निकालिदिनेलाई २ हजार दिन्छु भनिन् । मैले खोलाभित्र पसेर मोवाइल निकालेर दिएँ, उनले १५ सय रुपैयाँ दिइन्,’ मुखिया सुनाउँछन्, ‘रोजीरोटीको सवाल हो यही काम गर्नुपर्छ ।’
ब्यारेज क्षेत्रमा उनीजस्तै काम गर्ने दर्जनौं मानिस छन् । उनीहरु कोशीले बगाएर ल्याएको दाउरा संकलन गर्छन्, बेचेर जिविकोपार्जन गरिरहेका छन् । आफूले दाउरा झिकेर वा माछा मारेर दिनमा ५ हजारसम्मको व्यापार गर्ने गरेको सुनाउँछन् ।
‘कुनै दिन हुँदैन पनि । कुनै दिन ५ सय, १ हजारदेखि ५ हजारसम्मको आम्दानी हुन्छ । दैनिक कमाउने खाने रमाउने हो । आफ्नै देशमा बस्ने हो,’ उनी भन्छन् ।
ब्यारेज क्षेत्रमा काम गर्दा विभिन्न अनुभव उनले संगालेका छन् । ‘यहाँ दुःख परेका मानिसहरु निकाल्नका लागि म तयार छु,’ उनी सुनाउँछन् । इटहरीबाट आएकी एक महिलाले हाम्फालेर आत्महत्याको प्रयास गरेकी थिइन् । तर, उनै मुखियाले निकाले । ‘थुप्रै मानिस बचाएको छु । छैठ पूजाको दिन दुई जना एक्कासी सप्तकोशीमा खसेका थिए । माछामा जाल लगाउँदै थिएँ । मान्छे झरेको देखेपछि म त्यो छोडेर आएँ । अनि उनीहरुलाई निकालें,’ मुखियाले अनुभव सुनाए ।
ट्रक खसेको दिन उनी कुदेर आउँदा ट्रक डुबिसकेको थियो । ट्रकका सामान छरिरहेको थियो । उनलाई लाग्यो मानिसलाई पहिले जोगाउँ । ‘पहिला मानिस नै निकाल्नुपर्छ भनेर खोलामा हाम्फालें ।,’
बर्खाको भेलमा हाम्फाल्न डर लाग्दैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘म आफैं ज्यान बचाएर काम गर्छु । खोलामा पौडी खेल्न मलाई कुनै गाह्रो छैन ।’ उनले पौडी खेलेर ज्यान बचाएको भन्दै सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बनेको छ । तर उक्त भिडियो उनै मुखियाको हो होइन भन्ने पुष्टि भएको छैन । तर, केही समय अगाडि पनि ट्रक झरेको थियो । त्यसबेला पनि ८ जना मानिस ट्रकको क्याबिनबाट जीवितै उद्धार गर्दा पनि उनै मुखियाको मुख्य भूमिका थियो । त्यसबेला ४ जनाको भने ज्यान गएको थियो ।
कोशी ब्यारेज प्रहरी चौकीका इन्चार्ज मिलन श्रेष्ठले ट्रकमा भएका मानिसहरु आफैं पौडिदै आइसकेका मानिसहरुलाई मुखियाको सहयोगमा निकालेको बताए । ‘उहाँहरु यहाँ माछा मार्ने, ढुंगा खियाउनेहरु नै हो । पर्दाखेरि प्रहरीलाई उहाँहरुले राम्रो सहयोग गरिरहुन भएकै छ,’ श्रेष्ठले भने, ‘कतिपयले पहिले पहिलेका भिडियो हालेर भाइरल पनि बनाएका छन् ।’
ट्रक कसरी झरेको थियो ?
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा गत शुक्रबार बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको ९ नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो ।
ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरियो । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते बनेका थिए भने अन्य दुई जना सामान्य घाइते भएका थिए । उक्त ट्रक एकदिनपछि निकालिएको थियो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।