अब कहिल्यै बर्थडे बनाउन पाउने छैनन् विराटनगरका रोहितले

विराटनगर । विराटनगरका ५ का रोहित चौधरी शुक्रबार बिहान उठेर मन्दिरमा गएका थिए । मन्दिरबाट फर्केर सबैलाई रसबरी खुवाए । शुक्रबारबाट २८ वर्ष प्रवेश गरेका उनी जन्मदिन मनाउने मुडमा थिए । त्यसैले उनी बर्थ डे मनाउन भनेर सम्झना टोलस्थित घरबाट दिउँसो १२ बजेतिर निस्किए ।

बर्थ डे मनाउन हिँडेका रोहित घर फर्किन पाएनन् । उनको बाटैमा गोलीहानी हत्या गरियो । प्रहरीका अनुसार लुटेरा समूहले रोहितको हत्या गरेको हो ।
शुक्रबार सुनसरीको इटहरी–धरान सडक खण्डको सेउती पुलनजिकै लुटेरा समूहले गोली हानेर उनको हत्या गरेका थिए । उनको हत्या भएपछि टोलवासी शोकमा छन् । कसैका आँखा ओभानो छैन । जङ्गल क्षेत्रमा हतियारधारी समूहले गोली प्रहार गर्दा विराटनगरका चौधरीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चौधरी शुक्रबार आफ्नी प्रेमिकासँग घुम्न मुलघाटसम्म पुगेका थिए । त्यहाँबाट फर्कँदै गर्दा धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्न खोजे । चौधरीले प्रतिकार गरे । लुटेरा समूहका दुई जनाको साथमा खुकुरी एक जनाको साथमा पेस्तोल रहेको उनकी प्रेमिकाले प्रहरीलाई जानकारी दिएकी छन् । रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले गोली चलायो र उनी गम्भीर घाइते भए । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दागर्दै मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
आमा जानकीलाई भने छोराको मृत्युको खबर सुनाइएको छैन । उपचार भइरहेको भनेर ढाँटिएको छ । तर पनि आमा हिजो साँझदेखि नै बेहोस छिन् । बेला बेलामा मुर्छा खाने गरेको रोहितकी ठूला बुबाकी छोरी शान्ता चौधरीले बताइन् । रोहित र उनकी काकाकी छोरी बहिनी नोबेल मेडिकल कलेजमा जागिरे थिए ।

हत्यापछि पहिलो खबर भने काकाकी छोरीले थाहा पाएकी थिइन् । औषधि पसलेले दाजुको हत्या भएछ भनेर सुनाएका थिए । उनले आँट गरेर घरमा सुनाइन् । थोरै मात्रै बोलेकी रोहितकी बहिनीले आफ्नो नाम समेत भन्न सकिनन् ।

रोहितका बुबाहरु तिनजना  हुन् । तीनै जनाको आँगन एउटै हो । । बुबा काठका मिस्त्री हुन् भने माइला र कान्छा काका घरमा मार्बल लगाउने गर्छन् । रोहितका तीन जना दाजुभाइ छन् । उनी जेठा हुन् । भाइ माइला पनि निजी क्षेत्रमा नै काम गर्छन् भने कान्छा भने पढिरहेका छन् । हजुरबुबा रामबहादुर चौधरी १७ वर्षदेखि ओछ्यानमा छन् । उनलाई प्यारालाइसिस भएको छ । रोहित आइहाल्छ कि भनेर बाटोतिर मात्रै हेरेर

हजुरआमा बस्ने गरेको शान्ताले बताइन् । उनको शव आज नै पोष्टमाटम गर्ने पारिवारिक स्रोतले जनाएको छ ।चौधरी बर्थ डे मनाउन एक जना युवती लिएर गएका थिए । ती युवती रोहितकी प्रेमिका हुन् । उनी पनि घटनामा सामान्य घाइते भएकी छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लुटपाटको प्रतिकार गर्दा उनीमाथि लुटेरा समूहले गोली प्रहार गरेको देखिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राईले बताए । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी राईले बताए । लुटेरा समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

मुलघाटबाट फर्कने क्रममा सेउती पुल कटेपछि बाइक रोकेर पानी खान खोज्दा पानमारातिरबाट आउने बाटोमा लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ । मोटरसाइकल रोकेर उनीहरू पानी खान भन्दै पानमारा जाने बाटोमा गएका थिए । उनीहरूको परिवार सामान्य परिवार हो ।

आइतबार, ०७ साउन, २०८०, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर