जोखिममा रहेका परिवारलाई गाउँपालिकाले घर बनाएर सार्ने

विराटनगर । पहिरोको जोखिममा रहेका ६४ परिवारलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्ने भएको छ ।

पहिरोको जोखिममा रहेका ओदकका परिवारले स्थानान्तरणका लागि निवेदन दिएपछि गाउँपालिकाले घर निर्माण गरेर स्थानान्तरण गर्ने भएको हो ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गरेको निर्णयअनुसार वडा नम्बर–३ साँघुको मदन भण्डारी रंगशालाको नाममा रहेको जग्गामा संरचना बनाइनेछ । पाँच जनासम्मको परिवार बस्न मिल्ने ३५ वटा, आठ जनासम्म बस्न मिल्ने २३ वटा र ११ जनासम्म बस्न मिल्ने ६ वटा घर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष बनेमले बताए ।

सबै संरचनामा एकै किसिमको भान्साकोठा हुनेछ भने धारा र शौचालय दुई परिवारका लागि एउटा बनाइनेछ । अपांगमैत्री शौचालय र धारा निर्माणको योजना रहेको गाउँपलिकाले जनाएको छ । त्यहाँ रबरको ड्रम, ट्याङ्की राखेर पानीको व्यवस्थापन गरिने छ ।

टहराको ड्रइङ डिजाइन सार्वजनिक गरेको छ । तत्काल ६४ परिवारलाई सार्ने योजना रहेपनि कोही कतै समस्यामा परे उनीहरूलाई समेत राख्ने संरचना वनाउने योजना गाउँपालिकाको छ । जनश्रमदान जुटाएर र पालिकाको आफ्नै बजेटबाट संरचना निर्माणको काम सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ ।

असार पहिलो साताको भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण मैवाखोला–४ साँघुको बस्ती जोखिममा रहेको छ । पहिरोले जिल्लाको सिदिङ्वा गाउँपालिकामा तीन जनाको ज्यान लिएको छ भने तीन जना अझै बेपत्ता रहेका छन् ।

शनिबार, ०६ साउन, २०८०, दिउँसोको ०४:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर