६३ हजार राजश्व बुझाएर भन्सारबाट छुटेको एक अर्बको सुन

काठमाडौं । तस्करी गरी भित्र्याइएको अवस्थामा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको करिब सय किलो सुनको मूल्य अनुमानित एक अर्ब पर्ने बताइएको छ । तर, उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गरेको खुलेको छ ।

बरामद गरिएको सुन गत असार २९ गते नै हङकङबाट काठमाडौं ल्याइएकोमा सिनामंगलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको गोदाममै थियो । ५ दिनसम्म गोदाममा राखिएको १६० पीस ब्रेकप्याडको भन्सार शुल्क ६३ हजार रुपैयाँ रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेलले बुझाएर सामान छुटाएका थिए ।

ब्रेकप्याडमा लुकाएको सुन भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले जाँचपास गरेका थिए । मंगलबार नै उक्त ब्रेकप्याड ट्याक्सीमा ढुवानी गरेर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।

ब्रेक शुका नाममा सुन भित्र्याउने रेडी ट्रेड प्रा.लि. आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा गत चैतमा मात्र दर्ता भएको पाइएको छ । तीन महिनाअघि प्यानमा मात्र दर्ता भएको उक्त कम्पनीको ठेगाना भने बूढानीलकण्ठ नगरपालिकाको पासिकोट देखिन्छ ।

मोटरसाइकल र स्कूटरको स्पेयर पार्टस् तथा दाह्री काट्ने रेजर आयात गरेको देखाएर त्यसभित्र सुन लुकाइएको अवस्थामा विभागको टोलीले बुधवार बरामद गरेपछि अवैध धन्दाको खुलासा भएको हो । रेडी ट्रेडर्सका सञ्चालक रहेका भुजेल सो प्रकरणमा पक्राउ परिसकेका छन् ।

विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा विभागले सिनामंगलबाट सुन बरामद गरेको हो । यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।

बिहिबार, ०४ साउन, २०८०, दिउँसोको ०१:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर