विराटनगर । चार वर्ष अघि २०७६ चैत्र ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित कटहरी फलफूल तथा तरकारी थोक बजारको उद्घाटन गर्दै भनेका थिए ‘किसानहरुले खेतमा उब्जाएका तरकारी कहाँ बेच्ने भन्ने चिन्ता किसानलाई हुनेछैन, बोरामा कसेर ल्याउने यहाँ बसेर बेच्ने ।’ चार वर्ष बित्यो तर ओलीले भनेको त्यो दिन आएन ।
नेपाल सरकारले १५ करोड रुपैयाँ खर्च गरेर बनाएको तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजारमा न तरकारीको बोरा झर्यो न त फलफूलका पसल नै राखिए । उल्टो बजार परिसर खण्डहर बन्यो । करोडौं खर्चेर बनाएको बजार परिसरको पश्चिम तर्फको पर्खाल पोहोरको बर्खामा ढल्यो अझै पुनर्निर्माण गरिएको छैन ।
लामो समयसम्म तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको उक्त संरचनामा बुधबारदेखि साप्ताहिक हटिया लाग्न थालेको छ । कटहरी गाउँपालिकाले उक्त संरचनामा बुध हटिया लगाउने निर्णय गरेको हो ।कटहरी फलफूल तथा तरकारी थोक बजार साप्ताहिक हटिया सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको थिएन । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको तरकारी (गुद्री) बजारलाई स्थानान्तरण गरी व्यवस्थित र आधुनिक तरकारी बजार सञ्चालन गर्नका लागि सरकारले ठूलो रकम खर्चेर संरचना निर्माण गरेको थियो । तर, बजार सञ्चालन गर्न नसक्दा विस्तार भएर दुईवटा तरकारी बजार बनिसकेको छ । तरकारी बजारका लागि भनेर निर्माण गरिएको संरचनामा भने साप्ताहिक हटिया लाग्न थालेको छ ।
तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरे लगतै बजार सञ्चालनमा आउने घोषणा गरेका थिए । ओलीको उक्त घोषणपछि मुलुकमा तीन जना प्रधानमन्त्री बनिसकेका छन् तर यहाँको फलपूmल तथा तरकारी थोक बजार हटियामा परिणत भएको छ ।कटहरी गाउँपालिकाले तरकारी बजार सञ्चालनको जिम्मा पाएपछि त्यसलाई सञ्चालन गर्ने जमर्कोस्वरुप बुधबार पहिलो पटक त्यहाँ हटिया लगाइएको हो । विगतमा हाटखोला चोकदेखि सिंघिया किनारसम्म लाग्ने गरेको बुधहटिया पछि सिंघियापारीको खुला चौरमा सरेको थियो । अहिले त्यहाँबाट झण्डै डेढ किलोमिटर उत्तरमा रहेको तरकारी बजारमा हटिया सारिएको छ । कृषि थोक बजारमा साप्ताहिक हटिया लगाउने निर्णयसँगै किसानले बोरा कसेर ल्याउने र ट्रक भरेर पठाउने भन्ने उद्देश्यमा तुसारापात भएको छ ।
कटहरी गाउँपालिकाले पहिलो चरणमा बुधबार हटिया लगाउने र त्यसपछि सातामा तीन दिन हटिया लगाउने योजना बनाएको छ । केही समयपछि सातै दिन हटिया लगाएर खुद्रा तरकारी बजारको स्वरुप दिने उसको तयारी छ । तर, अपायक पर्ने भन्दै हटियामा पसल राख्नेहरु नयाँ ठाउँमा जान मानेका छैनन् ।
सरकारले ५ बिघा दुई धूर क्षेत्रफलमा थोक तथा खुद्रा बजार सहज र प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने गरी सुविधा सम्पन्न संरचना निर्माण गरेको छ । जहाँ प्रशासनिक भवन, ३२ वटा थोक तरकारी तथा फलफूल पसल र ३२ वटै खुद्रा पसलका स्टलहरु राख्न मिल्ने गरीका संरचना बनाएको छ । बजारमा गोदाम घर र १७ वटा सटरसहितको भवन निर्माण गरिएको छ भने खुद्रा बिक्रेताकालागि ३५१ वर्ग मिटरको टहरा निर्माण गरिएको छ । किसानले उत्पादन गरेको वस्तु सोझै लगेर बिक्री गर्न १३८ वर्ग मिटरको सेड पनि छ । सरसफाइका दृष्टिले पनि सहज व्यवस्थापन गर्न सकिने गरी तयार पारेको संरचना लामो समयसम्म प्रयोगमा आएन । सार्वजनिक खपतका लागी जस्तोसुकै कुरा पनि बोलिदिने हाम्रा प्रधानमन्त्रीहरुको बोली यो बजारको हकमा पनि सस्तो र मूल्यहीन बन्न पुग्यो । साप्ताहिक हटिया लगाउनका लागि १५ करोड खर्चेर बनेको संरचना उपयोग हुनु राज्यको स्रोत र साधनको दुरुपयोग भएको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल बताउँछन् ।
उक्त तरकारी बजार सञ्चालन गर्न संघीय सरकारपछि प्रदेश सरकारले एक चरण जमर्को ग¥यो । नियमावली र कार्यविधिहरु तयार गरेर कर्मचारीसमेत नियुक्त गर्यो तर बजार सञ्चालनमा आएन । अहिले त्यो संघीय सरकारबाट प्रदेश हुँदै स्थानीय सरकारतिर सरेको छ । स्थानीय सरकारले थोक बजार सञ्चालन गर्ने उद्देश्यले बनाएको संरचनामा साप्ताहिक हटिया लगाउन सुरु गरेको छ ।
हटिया सार्दा हाटबजारकै व्यापारीको विरोध
बुधबार पुरानै ठाउँमा हटिया लगाएका साधारण व्यापारीहरुलाई प्रहरीले जबरजस्ती हटाएको छ । प्रहरीले बल प्रयोग गरेर हटाउन थालेपछि स्थानीय र प्रहरीबीच साधारण झडपसमेत भएको थियो । पुरानो ठाउँमा आइतबार र बुधबार हटिया लाग्ने गरेको थियो । साविकको ठाउँबाट अन्यत्र सार्ने निर्णयमा असहमति जनाउँदै पुरानै ठाउँमा हटिया लगाउनेलाई प्रहरीले रोकेको थियो । झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले छोटु मुखिया, विकास साह, सुरज राय, किसन मण्डल, सुलेन्द्र साहलाई पक्राउ गरेको छ । हटिया लगाउन पाउनु पर्छ भन्दै आन्दोलनमा उत्रिएकाहरुले प्रहरीमाथि ढुंगामुढासमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हटियामा पसल गर्नेहरुले नयाँ ठाउँमा व्यापार नचल्ने र आफूहरुको रोजीरोटीमा समस्या हुने भन्दै नयाँ ठाउँमा जान अस्वीकार गर्दै विरोधमा उत्रिएका हुन् ।
३० वर्षदेखि बुधहटियामा माछा बेच्दै आएकी गिता मुखिया हटिया लगाउन नपाउँदा आक्रोशित देखिइन् । ‘नयाँ ठाउँमा माछा बिक्ने अवस्था छैन, मेरा ग्राहकहरु यतै आउँछन् त्यहाँ को पुग्छ ?’, उनले असहमति जनाइन् । आफैंले जिताएर पठाएको जनप्रतिनिधिको व्यवहारबाट उनको चित्त दुखेको छ ।
हटियामै पसल थापेर घर चलाउँदै आएकी विराटनगर ८ की मिनादेवी सहनी गाउँपालिकाले अनावश्यक दुःख दिएको बताउँछिन् । बजार सार्नुपर्ने विषयमा पसलेहरुसँग पर्याप्त छलफल नगरेका कारण पनि हटियामा पसल थाप्नेहरु गाउँपालिकासँग बढी आक्रोशित देखिए ।यसरी आक्रोशित समूहले कटहरी गाउँपालिकाको कार्यालयसमेत घेराउ गरेका थिए । तर स्थानीयको आक्रोश पोखिने सम्भावना देखेपछि बुधबार गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सिता देवी राजवंशी दुवै कार्यालयमा अनुपस्थित भएका थिए ।