विराटनगर । मोरङको कटहरी चोकमा आइतबार र बुधबार लाग्ने हटियालाई सार्न खोजेपछि विवाद भएको छ । कटहरी गाउँपालिकाले रंगेली रोडबाट उत्तरतर्फको निजी जग्गामा लागिरहेको बजारलाई कटहरी १ महेशपुरमा रहेको फलफुल तथा तरकारी बजारमा सार्ने निर्णय गरेको थियो ।
रंगेली रोड नजिकै सिंघीया खोला किनारमा लाग्ने साप्ताहिक हाट लगाउन बुधबार स्थानीय प्रशासनले रोक लगाएको थियो । बजारलाई सार्ने भन्दै हाट लगाउन अबरोध भएपछि ब्यापारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।
संघीय सरकारले करोडौंको लगानीमा निर्माण गरेको तरकारी बजारको संरचना अलपत्र रहेको बेला गाउँपालिकाले हाटलाई त्यहाँ सार्ने निर्णय गरेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते उद्घाटन गरेको संरचना सञ्चालनको लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जिम्मा पाएको भएपनि सञ्चालन गर्न सकेका छैनन् ।
प्रदेश सरकारले सञ्चालन गर्न नसकेको र विराटनगर महानगरपालिकाले चासो नदिएको संरचनामा बजार सञ्चालन गर्न प्रदेश सरकारले कटहरी गाउँपालिकालाई जिम्मेवारी दिएको थियो । प्रदेश सरकारले जिम्मेवारी दिएपछि पालिकाले बजार सार्ने निर्णय गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।
विराटनगरको गुद्री बजारलाई सार्नका लागि भन्दै १४ करोड लागतमा फलफुल तथा तरकारी थोक बजार निर्माण भएको थियो । तर, तत्कालिन कांग्रेस नेता (हाल विराटनगर महानगरका मेयर) नागेश कोइरालाले विराटनगरको गुद्री बजारलाई बसपार्क पश्चिम आफ्नो निजी जग्गामा सारेपछि गुद्रीका व्यापारी कटहरीको बजारमा जान नमान्दा बजार अलपत्र परेको थियो ।
गुद्रीका व्यापारी सर्न नमानेपछि प्रदेश सरकारले २०७७ सालमा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालनको जिम्मेवारी दिएको थियो । तर, संघ पनि बजार सञ्चालन गर्न सकेन । त्यसपछि अलपत्र अवस्थामा रहेको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हाट सार्ने निर्णय गरेको थियो ।
कटहरी बजारका स्थानीय ब्यापारीले भने गुद्रीका व्यापारी जान नमानेको स्थानमा आफूहरु नजाने बताएका छन् । चलिरहेको बजारलाई सार्न अध्यक्ष र प्रशासनले जबरजस्ती गरेको भन्दै व्यापारीहरुले विरोध गरेका हुन् ।
स्थानीय ब्यापारी किश्नी साहले पालिका अध्यक्षले बजार सार्न जवरजस्ती गरेको गुनासो गरिन् । पालिकाले सार्न खोजेको स्थानमा ब्यापार नहुने भएका कारण जान नमानेको उनको भनाइ छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सडक छेउको अव्यवस्थीत बजारलाई व्यवस्थित गर्न खोजेको बताए । कटहरीकै जनप्रिय माध्यमिक विद्यालयको ४ विघा २ कठ्ठा २ धुर र पालिकाको १८ कठ्ठा जग्गामा निर्माण भएको बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टीन, क्लीनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार निर्माण भएका छन् ।