विमल लामिछाने
कृषि उत्पादन घट्दै जानु माटोको उर्वराशक्तिमा ह्रास हुनु मुख्य कारण हो । माटोमा प्राकृतिक र जैविक मलको प्रयोग घटेपछि उत्पादन बढ्ने कुरै भएन । अर्कोतर्फ कृषि व्यवसायलाई उत्पादनमुखी र नाफामुलक वनाउने उद्देश्यले कृषिवालीमा प्रयोग गरिने झारनाशक र किटनाशक औषधिको प्रयोग हानिकारक वन्दै गएको छ । कृषि वस्तु उत्पादन र उत्पादकत्व वृद्धिका लागि रासायनिक विषादीलाई महत्वपूर्ण मानिए पनि त्यसको सुरक्षित प्रयोग, भण्डारण, प्रयोग गर्ने तरिका र सहि तरिकाले विसर्जन नगरिदिँदा जनस्वास्थ्य र वातावरणमा गम्भिर असर पर्दै गएको छ ।
यस्ता विषादीको जथाभावी वा मापदण्ड विपरीत प्रयोग गर्नाले माटोमा पाइने फाइदाजनक सुक्ष्म जिवाणुह, जसको क्रियाकलापले माटोको उर्वराशक्ति बढाउँनमा सहयोग पु¥याउछ त्यस्ता जीवाणुहको विनाश हुने अथवा उनीहको वृद्धि विकासमा अवरोध पु¥याउने हुनाले माटोको उर्वराशक्ति घट्नुका साथै विषादीको अवशेष ज्यादा रहेका त्यस्ता तरकारी, फलफूल तथा खाद्यान्न उपभोग गर्दा अथवा असुरक्षित तवरले विषादी छर्कदा मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको विज्ञहरुको तर्क छ ।
विषादीको प्रयोगवाट सकरात्मक भन्दा वढी उत्पन्न हुने नकरात्मक प्रभावलाई दृष्टिगत÷समिक्षा गर्दा विषादी प्रयोगको सहि दिशा आत्मसात गर्नु पर्दछ । आखिरमा विषादी विष नै हो र यसलाई औषधिको रुपमा प्रयोग गर्न सकिदैन । प्राकृतिक तवरले हुने उत्पादनले बढ्दो जनसंख्यालाई धान्न नसकेपछि रासायनिक मललाई प्रयोजनमा ल्याइएको पाइन्छ । उत्पादन वृद्धि र रोगकीराबाट जोगाउन रासायनिक विषादीको प्रयोग सबैतिर निरन्तर बढ्दै गएको छ । नेपालमा पनि खाद्य तथा तरकारीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको छ । आर्थिक वर्ष २०५४÷५५ मा नेपालमा जम्मा ५६ मेट्रिक टन रासायनिक विषादी भित्रिएकोमा आर्थिक वर्ष २०७८/७९ मा ७८३ मेट्रिक टन पुगेको छ । साढे दुई दशकमा झन्डै १४ गुनाले रासायनिक विषादीको प्रयोग बढ्नु पक्कै पनि खुसीको खबर होइन ।
रासायनिक विषादी मानव स्वास्थ्यका निम्ति लाभदायक हुँदैन । विषादीको मात्रा, प्रयोग, समय र विधि आदिमा उपयुक्त ज्ञान र सीप नहुँदा रासायनिक विषादीका जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने चिकित्सकको भनाइ छ । खासगरी तरकारीमा प्रयोग हुने रासायनिक विषादी जनस्वास्थ्यसित प्रत्यक्ष सम्बन्धित हुन्छन् । नेपालमा विषादीको आयात तीव्रतर बढेसँगै उत्पादनमा विषादी परीक्षणसमेत आवश्यक हुन्छ तर विषादी परीक्षण सम्बन्धित निकायको मौनता विडम्बनाको विषय बनेको छ । अझ एकथरी विषादीको प्रयोग भइरहेकोमा अर्कै तवरको विषादी परीक्षणसमेत गर्ने गरेको पाइएको छ । झन् प्रयोगमै नरहेको विषादी परीक्षणले उपभोक्तामाथि व्यापक बेवास्ता गरेको स्पष्टै हुन्छ ।
केही समाचारलाई आधार मानेर हेर्दा नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरिएको पाइएको छ भने परीक्षण हुनुपर्ने विषादी भने परीक्षण हुन सकेको छैन । अझ भारतबाट आउने तरकारीमा विषादी परीक्षण हुनै सकेको छैन । कृषि तथा पशुुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएकाले उपभोक्तालाई आश्चर्यमा पारेको छ । खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आए पनि तिनले प्रयोगमा नरहेका समूहका विषादी परीक्षण गर्ने गरेको समाचार वाहिरिएको थियो । अधिकारीका अनुसार झन्डै १० वर्षपहिले नै ती विषादीमा प्रतिबन्ध लगाइएको हो तर परीक्षण भने अझै निरन्तर कायमै छ ।
आठ दस वर्षअघि प्रयोगमा भएका तर अहिले प्रयोग नभएको विषादी परीक्षण हुनुले जनस्वास्थ्यमा गम्भीर लापरबाही देखिएको छ । खासगरी बजेटकै अभावमा विषादी परीक्षणलाई सामयिक बनाउन नसकिएको हो भन्ने तर्क सान्दर्भिक हुँदैन । यसले सम्बद्ध निकायको जनस्वास्थ्यप्रति संवेदनशीलता देखिँदैन भन्ने कुराको पुष्टी पनि गर्दछ ।
केन्द्रीय प्रयोगशालाले आवश्यक पर्ने प्राविधिक जनशक्तिको क्षमता वृद्धि गर्न र प्रयोगशालाको स्तर वृद्धिलगायतका विवरण खुलाएर बजेट निकासाका लागि कृषि तथा पशुुपन्छी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाए पनि बजेट निकासा नभएको बहानामा उपभोक्ता बिनापरीक्षण नै तरकारी उपभोग गर्न बाध्य छन् । यो ठूलो विडम्बना हो ।
केही दशक अघिसम्मपनि नेपालको परम्परगत खेती प्रणाली पूरै जैविक प्रविधिमा आधारित थियो, विषादीको समस्या थिएन । पशुपालनमा आधारित जैविक खेती प्रणालीले मानव स्वास्थ्यमा अनुकूल प्रभाव पार्ने देखिएको छ । विकसित मुलुकले रासायनिक मल र विषादीको आविष्कार र प्रयोग बढाए पनि बिस्तारै उनीहरू अर्गानिक उत्पादन र उपभोगतिर आकर्षित भइरहेका छन् ।
नेपालमा भने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । आयातित रासायनिक मल र विषादीको प्रयोग व्यापक बढ्दै गएको छ । रासायनिक मल र विषादीको प्रयोग विधि, पद्धतिको ज्ञान र सीपको विस्तार भने हुन सकेको छैन । त्यसैकारण जथाभाबी विषादीको प्रयोगले खाद्य, ताजा तरकारी तथा फलफूलमा विषादीको प्रयोग तीव्रतर बढ्दो छ, तर परीक्षणको संस्थागत संरचना नाजुक अवस्थामा छन् । विषादीको अवैज्ञानिक बढ्दो प्रयोगले क्यान्सर लगायतका घातक रोग लाग्ने गर्छ भन्ने चिकित्सकीय सुझावको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । मानव स्वास्थ्यमा प्रतिकूल हुने विषादीको प्रयोग घटाउने र त्यस्ता विषादी प्रयोग भएका खाद्य तथा तरकारीको परीक्षणपछि मात्र उत्पादन बजार पठाउन सरकारले पहल गर्नु जरुरी छ ।
रासायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने प्रायः किसानको सोचाइ हुन्छ । पछिल्लो समय विषादीका विभिन्न विकल्पबारे अनुसन्धान भएका छन् । यी विधि एवं प्रविधि उत्पादनको हिसाबले उत्तिकै प्रभावकारी सावित भएका छन् । विषादीको तुलनामा महँगो पनि छैनन् । कीराको अनुगमन र व्यवस्थापन गर्ने मोहिनी पासो, बत्तीको पासो, पहेंलो पासो जस्ता जीवाणुजन्य प्रविधि बालीनालीमा लाग्ने रोगकीरा विरुद्ध प्रभावकारी देखिएका छन् । तर, नेपालमा बहुसंख्यक किसानमा यस्ता वैकल्पिक प्रविधिबारे जानकारी नै छैन । यसबारे जानकार किसानलाई पनि यी प्रविधि सहजै उपलब्ध हुँदैनन् ।
गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ । गोबर मल, कम्पोस्ट मल, गँड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ । तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गर्न स्थानीय सरकारको ध्यान खिचिनुपर्छ । उपभोक्ताको मनोविज्ञान र विषादी प्रयोगबीच गहिरो सम्बन्ध हुन्छ । विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका पनि हुन सक्छन् जुन सामान्यतया उपभोक्ताले किन्दैनन् । अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र माग अनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ । यही उपभोक्ताको रोजाइको मनोविज्ञानले विषादीको प्रयोगलाई प्रोत्साहित गरिरहेको हुन्छ ।
विषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचाइमा परिवर्तन ल्याउन जरुरी छ । रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी कीरालाई तत्काल असर गर्छ, मार्छ, तर यस विपरीत जैविक, वानस्पतिक वा घरेलु विषादीले हानिकारक कीरालाई नमारी तिनको संख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ । यसरी व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित हुन्छ भन्ने अनुभव प्राङ्गारिक र जैविक विषादी प्रयोगकर्ता किसानहरुले सेयर गर्दै आएका छन् ।
भनिन्छ, संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन् । तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन् । प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे किसानलाई बुझाउन आवश्यक छ । तत्काल र धेरै नाफा लिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ । विषादीको प्रयोग घटाउदै लानु र प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो ।