अस्पतालको क्षमता तत्काल बढाऊ

 सम्पादकीय

विराटनगरस्थित कोशी अस्पतालमा शैय्या अभाव भएर विरामीलाई भूइँमा, झ्यालमा, स्ट्रेचरमा र एउटै बेडमा दुई जनासम्म राखेर उपचार गरिएको दृश्य दर्दनाक छ । विरामीको अधिक चाप हुने अस्पतालमा शैय्या अभावको पिरलो सुरु भएको धेरै भइसकेको छ । अझ सबैभन्दा धेरै भीड हुनेमध्येको एक आकस्मिक कक्षमै शैय्या अभाव हुनु दुःखद् विषय हो । कोशी अस्पतालको समिति र प्रशासनले यो सकस हटाउन र स्थायी समाधान गर्न तत्कालै कदम चाल्नुपर्छ । विरामीलाई सकेसम्म सुविधायुक्त वातावरणमा उपचार दिनुपर्ने दायित्व बोकेको अस्पतालले उल्टै सास्ती दिने काम गर्नु हुँदैन । केही दिनयता झ्यालमा बसेर उपचार गराइरहेका विरामी र तिनका कुरुवाले सहेको सास्तीले कोशीमा आमूल सुधारको माग गरेको प्रष्ट छ ।

कोशी अस्पताल पूर्वको ठूलोमध्येको एक अस्पताल हो । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछिको सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठान कोशीमा कोशीमा जनरल, आइसियू र आकस्मिक कक्षको शैय्या विस्तार जरुरी भइसकेको छ । अहिले अस्पतालको आकस्मिक कक्षमा ४० वटा शैय्या छन् । बर्खामा विरामीको चाप बढेपछि धेरै समय ती बेड भरिभराउ हुने गरेका छन् । ४० जनाभन्दा एकै जना पनि बढी विरामी आइपुगे अब थप विरामीका लागि शैय्या अभाव भइहाल्छ । बर्खा याममा कोशीमा सर्पदंशका विरामी पनि धेरै हुने गरेका छन् । त्यसैले बेडले पुग्दैन । आकस्मिक कक्षको क्षमता विस्तार गर्ने, जनशक्ति थप्ने र आकस्मिक कक्षलाई अझै सुविधायुक्त तुल्याउन अस्पताल विकास समिति र प्रशासन जिम्मेवार बन्नैपर्छ ।

त्यसो त कोशीमा कूल ३५० शैय्या छन् । मेडिकल वार्डमा ३२ शैय्या, आइसियूमा १२ शैय्या, र एचडीयूमा ५ शैय्या भएको अस्पतालमा आकस्मिक कक्ष, आइसियू, मेडिकल वार्ड र एचडियुमा शैय्या थप गरिनुपर्ने माग लामो समयदेखि उठिरहेको छ । दैनिक रुपमा बढ्ने विरामीको चापले अहिलेको शैय्याहरु अपुग भएकोबारे अस्पताल नेतृत्व जानकार छ । तर, मन्त्री फेरिँदैपिच्छे फेरिने नेतृत्व र समितिमा आएकाहरु दलीय स्वार्थ सिद्धिमा लिप्त रहने समस्याले अस्पतालको सुधार हुन सकिरहेको छैन । यही राजनीतिक स्वार्थपूर्तिमै व्यस्त रहने समितिको नेतृत्वले क्षमता विस्तारमा पर्याप्त ध्यान पुर्याउन सकेको छैन । समितिले अस्पताललाई अझै समृद्ध तुल्याउन भूमिका निर्वाह गर्ने दायित्व बहन नगर्दा पनि यस्तो समस्या आएको हो ।

कोशी अस्पतालमा दैनिक कम्तीमा १ हजारदेखि १५ सय जनासम्म विरामी ओपिडि र आकस्म्कि कक्षमा सेवा लिन आउने गरेका छन् । करिब १ सयदेखि १ सय १५० जना विरामी भर्ना हुने गरेका छन् । यो तथ्यांकले पनि कोशीमा हुने विरामीको चाप छर्लङ्ग हुन्छ । यतिधेरै विरामी उपचारका लागि आउने अस्पतालको आकस्मिक कक्ष नै जम्मा ४० बेडको हुनु, जनशक्ति अभावको कारण देखाएर क्षमता विस्तार नगरिनु निर्धन नागरिकमाथि गरिएको अन्याय हो । यसै पनि कोशीमा बहुसंख्यक विरामी न्यून आय भएकाहरु नै हुने गर्छन् । सुविधायुक्त निजी अस्पतालको महँगो शुल्क तिर्न नसक्नेहरुको भीड लाग्ने अस्पताललाई अहिलेकै अवस्थामा छोड्न हुँदैन । क्षमता विस्तार र जनशक्ति थप्ने काम तत्काल गरिनुपर्छ ।

मङ्गलबार, ०२ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर