विराटनगर । विराटनगर महानगरले साउन १ गते सोमबारदेखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाउने भएको छ ।

नगर परिषदको निर्णय अनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाइने भएको मेयर नागेश कोइरालाले जानकारी दिए । यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको महानगरले अब भने प्रयोगमै प्रतिबन्ध लगाउने भएको हो । महानगरको यो निर्णय आलोचनारहित भने छैन । उत्पादन गर्ने कारखानाहरुबाट मनग्ये कर लिने तर बजारमा भने प्रतिबन्ध लगाउने भन्दै उत्पादकहरुले विरोध गर्दै आएका छन् ।

‘गुट्खा, खैनी, चुरोट जस्ता सुर्तीजन्य वस्तुको उत्पादन पनि महानगरले रोक्छ ?’, एक जना व्यवसायीले भने ‘उत्पादन गर्न दिइरहने, उद्योगहरुबाट कर पनि उठाइरहने तर बजारमा भने प्रतिबन्ध लगाउने कुरा न्यायसंगत भएन ।’

यसैगरी झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।