काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय प्रक्रिया नबुझी आइतबार प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।
दक्ष र सक्षम सांसदहरु लिएर आएको दावी गर्ने पार्टीका सांसदहरुले बेल घेराउ गरेपछि १५ मिनेटको लागि रोकिएको बैठक पुनः नियमित सुचारु भयो ।
रोकिएको बैठक १५ मिनेटपछि सुचारु हुँदा न त रास्वपा न राप्रपाका सांसदले रोष्टम घेराउको औचित्य र कारण प्रष्ट पारे । सभामुखले पनि त्यस विषयमा केहि बोलेनन् । संसद १५ मिनेट अघिको अवरोधको विषय थाहै नपाएको जस्तो बैठक सुचारु हुने अनौठो घटना भयो ।
आइतबारको प्रतिनिधिसभा सभामुख घिमिरेले बैठकको कार्यसूचीमा “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” थियो । सो विधेयकलाई सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गरेका सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठले बोलिसकेपछि त्यसमाथि निर्णयार्थ प्रस्तुत गरिएको थियो । उनीहरुको विरोधको सुचना अस्वीकृत भएपछि प्रतिनिधिसभा नियमावलीको नियम २०७९ को नियम १०६ बमोजिम विधेयक प्रस्तुत गर्ने अनुमति प्राप्त भएको घोषणा सभामुखले गर्दा रास्वपाकै सांसदले पनि टेबल ठोकेर समर्थन गरेका थिए ।
त्यसपछि सभामुखको अनुमतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पेस गरे । त्यसपछि सभामुख घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।
सभामुखले शिक्षामन्त्रीलाई विधेयक पेस गर्न अनुमति दिएपछि रास्वपा र राप्रपाका सांसदहरू आसनबाट जर्याकजुरुक उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई समय दिएकोमा उनले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई निर्णयार्थ पेश नगरी अर्को कार्यसुचीमा सभामुख प्रवेश गरेको भन्दै आपत्ती जनाए ।
परियारको भनाईले अल्मलिएका सभामुखले सचिवालयका कर्मचारीहरूसँग परामर्श गरेपछि नियमावली अनुसार बिधेयक पेश गरेको स्पष्टिकरण दिए । सभामुख र रास्वपा सांसदको अलमल देखेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बोल्न समय माग्दा सभामुखले उनलाई बोल्न समय दिए ।
तर, राप्रपा र रास्वपा सांसदहरूले विरोध जनाउँदै लेखकलाई बोल्न दिएनन् । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले रास्वपालाई बाइकट गरेर विधेयक अघि बढाएको भन्दै रोटर्म घेराउ गर्न पुगे । सभामुखले राप्रपा र रास्वपाका सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरू विरोध जारी राखे ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २८ र २९ वाचन गरेर सुनाउँदै सोही प्रक्रिया अनुसार विधेयक अघि बढेको स्पष्ट पारे । तर, रास्वपा र राप्रपाका सांसदहरूले त्यसलाई स्वीकार गरेनन् । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।
स्थगित गरिएको समयमा रास्वपा र राप्रपा सांसदहरुले संसदीय प्रक्रिया बुझेर गल्ती महसुस गरेकोकोले बैठक सुचारु भएको थियो । एमाले सचेतक पदम गिरीका अनुसार ‘रास्वपाले प्रक्रिया नबुझेर समस्या भएको हो । विधेयकमाथिको विरोधको सूचना अस्वीकृत भयो, त्यसपछि सभामुखले विधेयक टेबल गर्न मन्त्रीज्यूलाई समय दिनुभयो, विधेयक टेलबपनि भइसकेर अर्को मन्त्रीलाई बोल्न समय दिएर बोल्न थालेपछि बल्ल उहाँहरूले विरोध गर्न थाल्नुभयो । उहाँहरूले गल्ती भएको महसुस गरिसक्नुभएको छ ।’
संघीय संसद्का प्रवक्ता एकराम गिरीले सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २८, २९ र १०६ मा भएको व्यवस्था अनुसार बैठक सञ्चालन गरेको बताए । प्रतिनिधि सभा नियमावली २०६९ को नियम २८ मा निर्णयार्थ प्रश्न पेस गर्ने विधि सम्बन्धी व्यवस्था रहेको छ । उपनियम १ मा प्रस्तावमाथि छलफल समाप्त भएपछि सो प्रस्तावको पक्षमा हुने सदस्यलाई हुन्छ र विपक्षमा हुने सदस्यलाई हुन्न भन्ने शब्द सुनिने गरी उच्चारण गर्नु भनी सभामुखले क्रमशः निर्णयार्थ पेस गर्नेछ भन्ने व्यवस्था छ ।
उपनियम २ मा उपनियम १ बमोजिम प्रस्तावलाई निर्णयार्थ पेस गरेपछि सभामुखले हुन्छ वा हुन्न भन्ने सदस्यमध्ये जुन पक्षको बहुमत भएको ठह¥याउँछ सो कुराको घोषणा गर्नेछ भन्ने व्यवस्था छ । उपनियम ३ मा उपनियम २ बमोजिमको घोषणाप्रति नियम २९ बमोजिम असहमति प्रकट नगरिएमा सभामुखको घोषणा प्रतिनिधि सभाको निर्णय मानिने प्रावधान छ ।
आइतबारको बैठक सभामुखले यही विधिमार्फत अघि बढाएका थिए । तर, रास्वपा र राप्रपा अलमल हुँदा बैठकमा असहज अवस्था पैदा भयो ।