काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथिको अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो।

प्रहरीले यो प्रकरणका अभियुक्तहरूलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ।

यसअघि गत असार १२ गते भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकै पटक पक्राउ परेका थिए।

गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।

यो प्रकरणमा पछिल्लो पटक गत बुधवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले समरजङ्ग कम्पनीका तत्कालीन सह लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।