लोड हुँदैछ...

मेनु

प्राविधिक शिक्षा आजको आवश्यकता

प्राविधिक शिक्षा आजको आवश्यकता

जीवनलाई सही मार्गमा डोहो¥याउनका लागि हासिल गरिने ज्ञानलाई शिक्षा भनिन्छ । शिक्षाले असल बानीहरूको निर्माण गर्दछ । यसले कुनै पनि व्यक्तिमा लुकेर रहेको क्षमतालाई बाहिर प्रस्फुटन गर्दछ । असल बानी सिकाउने शिक्षा व्यावहारिक हुन्छ । व्यावहारिक शिक्षा प्रविधिमा आधारित हुन्छ । प्रविधिमा आधारित प्राविधिक शिक्षा आजको आवश्यकता हो ।

आजको युग विज्ञान र प्रविधिको युग हो । त्यसैले कोरा किताबी शिक्षाभन्दा प्रविधिमा आधारित शिक्षा अति आवश्यक छ । हामीले परम्परागत बासी पुराण घोक्नुको साटो समय सान्दर्भिक र सीपमूलक शिक्षाको खोजी गर्नुपर्दछ । आज मानिस विज्ञानको सहायताले विभिन्न किसिमका आविष्कार गर्न सक्ने भएका छन् । हिजोको जमाना ढुङ्गेयुगको थियो त्यतिबेलाका मानिसहरू जङ्गलमा बस्थे । वनका कन्दमूल खान्थे र रुखका बोका लगाउँथे । उनीहरूमा चेतनाको अभाव थियो । विस्तारै मान्छेमा चेतनाको विकास भयो । विकसित चेतनासँगै शिक्षाको प्रार्दुभाव भयो । ढुङ्गे युगबाट मान्छेहरू कृषि युगमा अर्थात् मध्य युगमा प्रवेश गरे । यसबाट उनीहरूमा विभिन्न किसिमका खोज अनुसन्धानतिर ध्यान आकर्षण हुन पुग्यो । जसले गर्दा आजको प्राविधिक विश्वको निर्माण हुन पुग्यो ।

आफ्नै घर आँगनमा आफ्ना सीपहरू सदुपयोग गरी आयआर्जन र अर्थोपार्जन गर्न सकिन्छ । पछिल्लो समय विद्यार्थी व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छ । गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै छन् । मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ । व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन् । यसका लागि प्राविधिक रूपमा सीपमूलक र व्यावहारिक शिक्षा आवश्यक पर्छ । अव्यावहारिक शिक्षाको कारण वर्षेनी शिक्षित बेरोजगारको सङ्ख्या अत्यधिक रूपमा बढेको छ । सीपमूलक व्यावहारिक शिक्षाको अभावमा देशको उर्वर जनशक्ति विदेश पलायन हुनु परेको छ । थुप्रै लगानी गरेर शिक्षा हासिल गरे पनि स्तर अनुसारको रोजगार पाइँदैन । हाम्रो जस्तो विकासोन्मुख देश नेपालमा प्राविधिक शिक्षा अति आवश्यक छ । यसका लागि विभिन्न खालका संसाधनको विकास आवश्यक छ ।

हाम्रा विद्यालय र विश्व विद्यालयमा पढाइने सैद्धान्तिक शिक्षाका माध्यमबाट कुनै रोजगार प्राप्त गर्न सकिएको छैन ।नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व देखिएको छ । भारतीयलगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं । यो विषयमा ध्यान दिनु जरुरी देखिन्छ । हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर र गरिब हुँदै गइरहेका छौं । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन । वर्तमान समयमा समय सुहाउँदो र रोजगार प्राप्त गर्न सक्ने एक मात्र विकल्प प्राविधिक शिक्षा बनेको छ । रोजगार वा विना सीप हाम्रो जीवन चल्न सक्दैन । त्यसका लागि सीपमूलक शिक्षा चाहिन्छ । सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनुपर्छ । विभिन्न किसिमका सञ्चार माध्यमबाट लिइने तालिम, व्यवहारमा आधारित कृषि प्रणालीको विकास, मेकानिकल विषयहरू जस्ता कुरामा शिक्षा प्रदान गर्नुपर्छ । सरकारले वर्षेनी छुट्टयाउने शिक्षा क्षेत्रको बजेट अब आत्मनिर्भरयुक्त शिक्षामा खर्च गर्नुपर्छ । आत्मनिर्भरयुक्त शिक्षामा खर्च गर्न नसक्दा सरकारी बजेट बालुवामा पानी घोप्ट्याए जस्तै बेकम्मा बनेको छ ।

जीवन धान्नका लागि सैद्धान्तिक ज्ञान होइन व्यावहारिक ज्ञान आवश्यक पर्दछ । व्यक्ति आत्मनिर्भर बन्नका लागि सीपमूलक शिक्षा अनिवार्य हुन्छ । बद्लिँदो समयसँग प्रतिस्पर्धा गर्न र बेरोजगारको संख्या न्यूनीकरण गर्नका लागि प्राविधिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Bilamba
July 20, 2024 9:04 PM

Very nice 👍👍👍👍

थमन घर्ती मगर
September 18, 2024 7:39 AM

बिषयमा

प्रतिक्रियाहरू बन्द छन्।