विराटनगर । टर्की र सिरियाका भुईचालो प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्न विराटनगरमा ‘कोरा साइक्लिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ ।

नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईक्लिङ गरिएको हो ।

शनिबार आयोजित ईभेन्टमा ६० जना भन्दा बढी साईकल सवार युवाहरु सहभागी थिए। जनआन्दोलन चोकबाट धरानरोड, राजवंशी चोक, पुष्पलालचोक पुगेर मेनरोड हुँदै उनीहरु फेरि जनआन्दोलनचोक आईपुगेका थिए ।

सहभागीले झण्डै १२ किलोमिटर सडकको यात्रा गरेको आयोजकले जनाएको छ । तेश्रो संस्करणको साईकल परिक्रमा विराटनगरमा मात्र नभई एकैसाथ देशभरि आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष रंजित भगतले जानकारी दिए ।

सहभागीले स्वेच्छा अनुसार उपलब्ध गराएको रकम संकलन गरेर एकमुष्ट भुकम्प प्रभावित टर्की र सिरिया पठाईने अध्यक्ष भगतले जानकारी दिए । गत वर्षको फागुनमा टर्की र सिरियामा आएको भुईचालोमा ठूलो धनजनको क्षति भएको थियो ।